देश/प्रदेश
पुवाखोलामा बेलिब्रिज जडान सुरु

इलाम,भदौ १५ –
आजबाट पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ । पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ ।
सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो । बेलिब्रज दुई साताभित्रमा सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेले जानकारी दिनुभयो । इलाम नगरपालिका–९ भाङटार र वडा नं। ११ सोयाक जोड्ने उक्त पुल जडान गर्न भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ ।
पुल जडानका लागि सिभिल संरचना, गत आर्थिक वर्ष नै तयार भइसकेको थियो । भारतसरकारको अनुदान स्वरुप उक्त बेलिब्रिज नेपाललाई प्राप्त भएको हो । बेलिब्रिज जडानको काम सुरुपछि इलामवासी उत्साहित भएका छन् । जडान भइसकेपछि सडक मेची राजमार्गको वैकल्पिक सडक बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताउनुभयो । बेलीब्रिज निर्माण सम्पन्नपछि वर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ ।
मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर निर्माण भइरहेको छ । रासस



























