देश/प्रदेश
झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

झापा, भदौ १५-
जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ । झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार भदौ अन्तिम सातादेखि सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ३० वर्षमाथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
त्यसका लागि खोप भण्डारण तथा व्यवस्थापनको काम तीव्र पारिएको उहाँले जानकारी दिनुभयो । सामान्यतया १५ वर्षमुनिका बालबालिका यो रोगबाट बढी प्रभावित हुने मानिए पनि झापामा भने ५० वर्षभन्दा माथिका दीर्घरोगीमा पनि सङ्क्रमण र मृत्युदर बढी देखिएको दासले बताउनुभयो । उहाँका अनुसार गत असार र साउनमा जिल्लाभर १२ जनामा सङ्क्रमण पुष्टि भएकामा छ जनाको मृत्यु भइसकेको छ ।
सङ्क्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका-३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका-१४ की ५४ वर्षीया महिला, मेचीनगर-८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका-२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका-१० की ७३ वर्षीया महिला हुनुहुन्छ ।
धानखेत, फोहर र हिलोमा हुर्कने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्ला जस्ता पशुपन्छीबाट जापानिज इन्सेफ्लाइटिसको भाइरस लिएर मानिसमा सार्ने गर्दछ । सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट बच्न र घर वरिपरि सरसफाइमा ध्यान दिन आग्रह गर्दै स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । रासस



























