Uncategorized

‘आफन्तले शव पहिचान गरे, तर लैजान पाएनन्’

Banner

चितवन, भदौ १४–

पहिचान भइसके पनि गाडिएका शव आफन्तले तत्काल लैजान नपाउने भएका छन् । गाडिएका शवको डीएनए परीक्षणबाट पुष्टि भएपछि मात्रै आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आफ्न्तले शवको पहिचान गरेपनि जमिन मुनि गाडिएका कारण उनीहरु रित्तै फर्किन बाध्य छन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म हालसम्म चितवनमा २७३ वटा शव फेला परिसकेका छन् । तीमध्ये करिब एक सय ९९ शव गाडि सकिएको छ । शव पहिचान भए पनि गाडिसकेका शव डीएनए परीक्षण नगरी आफन्तलाई बुझाउन नमिल्ने भएकाले एउटा परिवार शव नलिई फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए । जिल्लामा फेला परेका नौ वटा शवको हालसम्म पहिचान भएको छ ।

‘नगाडेका शवलाई पहिचान भएपछि हामीले दिएका छौँ । तर गाडेका शव त्यसरी दिन मिल्दैन । डीएनए परीक्षण गरेर पुष्टि भएपछि मात्रै दिन्छौँ,‘पौडेलले भने ‘आज मात्रै एउटा परीवार शव नलिइ फर्किनुभएको छ । उहाँहरुलाई बुझाएर पठाएका छौं ।’ उनका अनुसार नेपालमा डीएनए परीक्षण गर्ने मुख्य व्यवस्था नेपाल प्रहरीको फरेन्सिक ल्याबमा रहेको छ । एउटै ल्याबबाट ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने अवस्था रहेकाले रिपोर्ट आउन लामो समय लाग्न सक्ने प्रहरी अधिकारीहरूको अनुमान छ । उनीहरूले अहिलेको क्षमताले मात्र परीक्षण गर्दा रिपोर्ट आउन करिब दुई वर्षसम्म लाग्न सक्ने बताएका छन् ।

डीएनए परीक्षणलाई छिटो सम्पन्न गर्न सरकारले विदेशबाट दक्ष जनशक्ति तथा प्राविधिक टोली ल्याउने तयारी गरेको बताइएको छ । कोरियाली टोली ल्याएर वा नमुना भारत पठाएर परीक्षण गर्ने विकल्पमा छलफल भइरहेको छ । ‘सरकारले निर्णय गरेमा प्रक्रिया अगाडि बढ्छ । भारत लगेर वा कोरियन टोली आएर परीक्षण गरेमा दुई महिनाभित्र काम सकिने अनुमान छ,’– पौडेलले भने ।

उनका अनुसार तत्काल डीएनए परीक्षण गर्न नेपालमै छुट्टै क्षमता र दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले हालको संरचनाबाट ठूलो संख्यामा नमुना परीक्षण गर्न कठिन छ । डीएनए परीक्षणपछि पहिचान पुष्टि भएका व्यक्तिका शवलाई प्राथमिकताका आधारमा आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

भरतपुर अस्पतालमा बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको डीएनए नमुना संकलन गर्ने काम जारी छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार एक शवबाट डीएनए नमुना संकलन गर्न १० देखि ३० मिनेटसम्म लाग्ने गरेको छ । उनले डीएनए परीक्षण खर्चिलो र जटिल प्रक्रिया भएकाले सामान्य अस्पतालबाट यस्तो परीक्षण सम्भव नहुने बताए । नेपालमा यसका लागि आवश्यक दक्ष जनशक्ति पनि पर्याप्त नरहेको उनको भनाइ छ । ‘डीएनए परीक्षण खर्चिलो प्रक्रिया हो । यो सामान्य ल्याब टेस्टजस्तो होइन। भरतपुरजस्ता अस्पतालले डीएनए परीक्षण गर्न सक्दैनन्,’– डा. बगालेले भने ।

चितवनमा शव व्यवस्थापन गर्न कठिन भएपछि मंगलबारदेखि शव गाड्न थालिएको प्रहरीले जनाएको छ । बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफन्त तथा परिवारजन चितवन आउने क्रम बढेको छ । त्रिशूली र नारायणी नदीमा बाढीपछि बगेर आएका शवहरू चितवनमा लगातार भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>