Breaking News
चीनले बाढीको दृश्य ‘दबाएको’ बीबीसीको आरोप

काठमाडौँ, भदौ १३ –
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि एउटा अर्को प्रश्न पनि अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । त्यो हो, तिब्बतमा भएको मानवीय क्षतिको सूचना चीनले कत्तिको सार्वजनिक गरिरहेको छ ?
बीबीसीकी चीन संवाददाता लौरा बिकरले अगस्ट २९ मा प्रकाशित विश्लेषणमा चीनभित्र तिब्बतको बाढीका भिडियो र प्रत्यक्षदर्शी सामग्री निकै सीमित रूपमा देखाइएको तथा सामाजिक सञ्जालबाट कतिपय सामग्री हटाइएको दाबी गरेकी छन् ।
यसले चिनियाँ सूचना नियन्त्रणको संरचनाभित्र विपद्को दृश्य र पीडितको आवाज कतिसम्म खुम्चन पुग्यो भन्ने पनि प्रश्नका उठाएको छ ।
बीबीसीको मुख्य आधार निकै महत्त्वपूर्ण छ । ग्यिरोङ सीमा नाकामा बाढी आउँदा सीसीटीभीमा कैद भएका अत्यन्त भयावह दृश्यहरू विश्वका अन्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए । तर चीनको सरकारी प्रसारणमा त्यस्ता दृश्यको उपस्थिति तुलनात्मक रूपमा न्यून रहेको बीबीसीले जनाएको छ । अझ महत्त्वपूर्ण कुरा, तिब्बतबाट बाँचेकाहरूका प्रत्यक्ष बयान, पीडित परिवारका प्रतिक्रिया र स्थानीय नागरिकले खिचेका भिडियोहरू अत्यन्त कम सार्वजनिक भएको पनि बिबिसिको दाबी छ ।
तर यतिकै भरमा चीनले बाढीसम्बन्धी कुनै पनि सूचना सार्वजनिक गरेन भन्नु बेतुकको तर्क हुन जान्छ । रोयटर्सका अनुसार चिनियाँ सरकारी सञ्चारमाध्यमले ग्यिरोङ क्षेत्रमा भएको विपद्, बेपत्ता मानिसको संख्या र उद्धार अभियानबारे नियमित जानकारी दिएका थिए ।
अगस्ट २७ सम्म चीनको तिब्बत क्षेत्रमा ५५८ जना बेपत्ता रहेको र तीन जनाको मृत्यु पुष्टि भएको जानकारी चिनियाँ सरकारी प्रसारक सीसीटीभीमार्फत सार्वजनिक गरिएको थियो । त्यसैले सम्भवत अहिलेको वास्तविक बहस भनेको सूचना दिइयो कि दिइएन रु भन्दा कस्तो सूचना दिइयो र कस्तो सूचना देखिएन ? भन्ने हो ।
चीनले उद्धार अभियानका दृश्य, सरकारी अधिकारीका गतिविधि र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको देखिन्छ । रोयटर्सले पनि चिनियाँ उद्धार टोली ग्यिरोङ क्षेत्रमा पुग्दा त्यहाँ ठूलो विनाश मात्र बाँकी रहेको र उद्धार अभियान जारी रहेको रिपोर्ट गरेको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेका छन् भने उद्धार टोलीले ड्रोन र निगरानी उपकरण प्रयोग गरिरहेको छ ।
तर स्वतन्त्र प्रत्यक्षदर्शी सामग्री र पीडितका व्यक्तिगत कथाको अभावले विपद्को अर्को पाटो ओझेलमा पार्न सक्छ । विपद्का बेला मानवीय क्षतिको संख्या मात्र पर्याप्त हुँदैन । कसको मृत्यु भयो, को बेपत्ता छ, परिवारको अवस्था के छ र उद्धार कति प्रभावकारी भयो भन्ने प्रश्न पनि उत्तिकै पेचिलो हुने गर्छ । यसरी हेर्दा बिबिसिको आलोचना पनि अर्थपूर्ण देखिन्छ ।
तिब्बत किन फरक संवेदनशील क्षेत्र हो ?
यस विषयलाई तिब्बतको राजनीतिक इतिहासबाट अलग गरेर हेर्न सकिँदैन । तिब्बत चीनको स्वशासित र सार्वभौम भूभाग हो भलै तिब्बती निर्वासित समूहहरूले लामो समयदेखि राजनीतिक, सांस्कृतिक र धार्मिक अधिकारका विषय उठाउँदै आएका छन् ।
त्यसैले तिब्बतमा कुनै ठूलो प्राकृतिक विपद् हुँदा पनि सूचना प्रवाह केवल मानवीय वा वातावरणीय विषयमा सीमित रहँदैन । त्यसले राजनीतिक अर्थसमेत ग्रहण गर्न सक्छ । यही कारण चीनले सामाजिक स्थिरता र सरकारी नियन्त्रणलाई विशेष प्राथमिकता दिन सक्छ भन्ने बीबीसीको विश्लेषण छ ।
तर यसलाई पनि सन्तुलित रूपमा हेर्नुपर्छ । चीनले विपद्को प्रतिक्रिया नै नदिएको वा उद्धारमा उदासीनता देखाएको प्रमाण छैन । बरु, उपलब्ध रिपोर्टअनुसार चिनियाँ उद्धार तथा प्रशासनिक संयन्त्र ठूलो स्तरमा परिचालित भएको छ । रोयटर्सले चीनतर्फ पनि उद्धार कार्य जारी रहेको र सम्भावित थप बाढीको जोखिममा रहेका हिमतालहरूको निगरानी भइरहेको जनाएको छ ।
सूचना नियन्त्रणको वास्तविक प्रभाव
समस्या त्यसपछि सुरु हुन्छ, जब सरकारी सूचना नै प्रमुख वा लगभग एकमात्र विश्वसनीय सार्वजनिक स्रोत बन्न पुग्छ । विदेशी पत्रकारलाई तिब्बतमा स्वतन्त्र रूपमा यात्रा गर्न कठिन हुनु र स्थानीय नागरिकले सरकारको आधिकारिक भाष्यभन्दा फरक सामग्री सार्वजनिक गर्दा जोखिम महसुस गर्नुजस्ता अवस्थाले सूचनाको विविधता घटाउन सक्छ ।
बिबिसिीले पनि यही पक्षलाई उठाएको हो । उसको दाबीअनुसार बाढीका प्रत्यक्ष भिडियोहरू हटाइनु र स्थानीय आवाज सार्वजनिक हुन नसक्नुले तिब्बतमा वास्तविक मानवीय क्षतिको स्वतन्त्र मूल्यांकन कठिन बनाएको छ । यसले बेपत्ता व्यक्तिका परिवारलाई समेत आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन कठिन बनाउन सक्छ ।
अर्कोतर्फ, विपद्को प्रारम्भिक चरणमा सञ्चार प्रणाली ध्वस्त हुनु, सडक र पुल बग्नु, विद्युत् तथा इन्टरनेट अवरुद्ध हुनुजस्ता प्राविधिक कारणले पनि प्रत्यक्ष सूचना कम हुन सक्छन् । त्यसैले चीनमा उपलब्ध भिडियो कम हुनुको प्रत्येक घटनालाई स्वतः सरकारी सेन्सरसिपको परिणाम भन्नु पनि उचित हुँदैन ।
प्राकृतिक विपद् केवल उद्धार र राहतको विषय मात्र होइन, सूचना पनि विपद् व्यवस्थापनको महत्वपूर्ण हिस्सा हो । चीनले उद्धार र राहतमा ठूलो संयन्त्र परिचालन गरेको तथ्यलाई अस्वीकार गर्न मिल्दैन । तर त्योसँगै पीडितको वास्तविक अवस्था, मृतक तथा बेपत्ताको पारदर्शी विवरण र स्वतन्त्र पत्रकारिता पहुँच पनि आवश्यक हुन्छ । रोयटर्सका पछिल्ला विवरणले समेत तिब्बतमा ठूलो मानवीय क्षति भएको र सयौँ मानिस बेपत्ता रहेको देखाउँछन् । त्यसो त विपद्का बेला सरकारको पहिलो जिम्मेवारी उद्धार गर्नु हो । दोस्रो जिम्मेवारी सत्य, पूर्ण र प्रमाणित सूचना सार्वजनिक गर्नु हो ।
बाढीसम्बन्धी सूचना प्रवाहमा ग्लोबल टाइम्सको भूमिका
अर्कोतर्फ, यस बाढी तथा पहिरोबारे चीनको ग्लोबल टाइम्सले सुरुदेखि नै निरन्तर रिपोर्टिङ गर्दै आएको देखिन्छ । अगस्ट २६ देखि २९ सम्म यसले ग्यिरोङ सीमा नाकामा भएको क्षति, मृत्यु तथा बेपत्ताको संख्या, उद्धार टोलीको परिचालन, चिनियाँ सेनाका भूमिका, राहत सामग्रीको आपूर्ति, स्याटेलाइटबाट प्राप्त तस्बिर तथा सम्भावित हिमताल फुट्ने जोखिमबारे लगातार समाचार प्रकाशित गरेको छ । उदाहरणका लागि, ग्लोबल टाइम्सले अगस्ट २७ मा चीनतर्फ ३ जनाको मृत्यु र ५५८ जना बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । त्यस्तै, नेपालतर्फको बाढीमा मृत्यु हुनेको संख्या बढिरहेको र नेपालमा रहेका चिनियाँ नागरिकसमेत बेपत्ता रहेको विषयलाई पनि उसले समेटेको थियो ।
तर ग्लोबल टाइम्सको रिपोर्टिङलाई स्वतन्त्र अन्तर्राष्ट्रिय समाचारभन्दा चिनियाँ सरकारी सूचना प्रणालीकै हिस्साका रुपमा देखिन्छ । यसको अधिकांश रिपोर्ट चिनियाँ सरकारी निकाय, सिन्ह्वा, विदेश मन्त्रालय, आपत्कालीन व्यवस्थापन विभाग वा सरकारी विज्ञका सूचनामा आधारित छन् । यसले उद्धार, राहत र प्राविधिक व्यवस्थापनलाई व्यापक रूपमा प्रस्तुत गरे पनि पीडितका व्यक्तिगत अनुभव, स्थानीय प्रत्यक्षदर्शीको स्वतन्त्र बयान वा चीनको विपद् व्यवस्थापनमाथिका आलोचनात्मक प्रश्नलाई तुलनात्मक रूपमा कम स्थान दिएको देखिन्छ ।
साथै, ग्लोबल टाइम्सले बाढीको उत्पत्तिबारे ‘नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किँदा ग्यिरोङमा पहिरो आएको’ भन्ने चिनियाँ प्रारम्भिक मूल्यांकनलाई प्रमुखताका साथ प्रसारित गरेको छ । त्यसैले बाढीबारे चीनभित्र उपलब्ध सूचनाको महत्वपूर्ण स्रोत भए पनि ग्लोबल टाइम्सले केवल तथ्य मात्र पस्किरहेको नभएर चिनियाँ सरकारी व्याख्या र प्राथमिकतालाई समेत स्थान दिइरहेको प्रष्ट देखिन्छ ।
त्यसो त नेपाल र चीनको सीमानामा घट्ने यस्ता प्राकृतिक प्रकोप उद्धार, अध्ययन, अनुसन्धानमा मात्र केन्द्रित हुँदैनन्, यससँगै आरोप–प्रत्यारोप र भूराजनीतिक पनि जोडिएर आउँछ । चाहे पश्चिमा सञ्चारमाध्यम हुन् या चिनियाँ ‘आ–आफ्नो ढम्फु बजाउनु’लाई अस्वभाविक मान्न सकिन्न । एजेन्सी


























