Breaking News

अन्तर्राष्ट्रिय क्लबको छायामा ओझेल पर्दै स्थानीय क्लबहरु

Banner

अमर प्रधान–

कुनै समय नारायणगढको सामाजिक अभियानका अग्रणी राइनो, युथ र दियालोजस्ता स्थानीय क्लबहरू आज भव्य भवनमा सीमित जस्ता देखिन्छन्। सामाजिक सेवामा सक्रिय यी संस्थाहरू समयसँगै किन ओझेलमा परे ?
चितवनको नारायणगढमा २०३५÷३६ सालको आसपासमा स्थापना भएका राइनो क्लब, युथ क्लब र दियालो परिवार लगायतका स्थानीय क्लबहरु कुनै समय चितवन लगायत वरिपरिका क्षेत्रमा सामाजिक सेवाका लागि नाम कहलिएका थिए। ती संस्थाहरूले समुदायको आवश्यकता पहिचान गरेर शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन, रक्तदान, सांस्कृतिक संरक्षण देखि जनचेतनामूलक अभियानसम्म अनेकौं उल्लेखनीय काम गरेका छन्। युवा अबस्थाको जोश, समुदायको विश्वास र स्थानिय तथा दातृ निकायहरूको सहयोगले यी क्लबहरू देशकै उत्कृष्ट सामाजिक संस्थामध्ये गनिन्थे। सामाजिक सेवाका लागि यी क्लबहरु बिच अघोषित रुपमा चर्कै प्रतिस्पर्धा समेत हुन्थ्यो।
तर आज अवस्था फेरिएको छ। नारायणी नदि किनारको सडक छेउमा यी संस्थाहरूको भब्य भवन त बाँकी छ, तर तिनको सामाजिक सक्रियता विगतको तुलनामा निकै कम देखिन्छ। उता चितवनमा लायन्स,लियो,रोटरी,जेसिस जस्ता अन्तर्राष्ट्रिय सञ्जालसँग आबद्ध क्लबहरू भने समुदायमा निरन्तर सक्रिय छन्।

स्थानीय क्लबहरूको निष्क्रियताको एउटा मुख्य कारण दातृ निकायमा अत्यधिक निर्भरता हो।यी क्लबहरुले पचासको दशक अघि दातृ निकायको सहयोगमा चितवन लगायत अन्य क्षेत्रमा समुदायमा आधारित धेरै परियोजनाहरु सम्पन्न गरेका छन् । तर देशमा ५० को दशकमा चलेको सशस्त्र द्वन्द्ब पछि सरकारी नीति र दातृ संस्थाको प्राथमिकता बदलिँदा यी संस्थाहरुको आर्थिक श्रोत सिमित हुँदै गयो। यी क्लबहरुद्वारा आफ्नै दिगो स्रोत सिर्जना गर्ने, सदस्यतामा आधारित आर्थिक प्रणाली विकास गर्ने वा स्थानिय निकायसङ्ग सहकार्य गर्ने पर्याप्त प्रयास गरेको देखिदैन। अर्को कुरा स्थानीय क्लब भित्र राजनैतिक दलहरुले आफ्नो बर्चस्व कायम गर्न गरेको हस्तक्षेपले यी क्लबहरुलाई थिलथिलो बनायो।
स्थानिय क्लबहरुको अस्तित्व सकिएकै हो त भन्ने प्रश्नमा युथ क्लब नारायणगढका पुर्ब अध्यक्ष हेरम्बकुमार असिम भन्नुहुन्छ–‘यी सामाजिक संस्थाहरूको अस्तित्व नै समाप्त भएको त होइन । आफ्नै भौतिक संरचना (भवन) हुनु तथा स्थानीय व्यक्ति (तात्कालीन युवाहरू) को सदस्यता कायम भएकाले संस्था जीवित नै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध नहुनु, स्थानीय तहसँग समन्वय गर्न नसकिनु, उपलब्ध स्रोत र साधनको परिचालन गरी सामाजिक सेवाका कार्य गर्न नसकिनु तथा स्थानीय युवाहरू संस्थाको सदस्य बन्न इच्छुक नहुनु आदि कारणले यी संस्थाहरू हराएका झैँ भएका हुन् ।’

अर्को महत्वपूर्ण पक्ष नेतृत्वको हो। कुनै पनि संस्था व्यक्तिभन्दा ठूलो हुनुपर्छ। तर धेरै स्थानीय क्लबहरू केही सीमित व्यक्तिको सक्रियतामा टिके। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने, उनीहरूको सोच र सीपलाई संस्थामा समेट्ने प्रक्रिया कमजोर रह्यो। परिणामस्वरूप संस्था बिस्तारै निष्क्रिय बन्दै गए। यसैबीच अन्तर्राष्ट्रिय क्लबहरूले नयाँ पुस्तालाई आकर्षित गरे। नेतृत्व विकास, अन्तर्राष्ट्रिय नेटवर्क, तालिम, सम्मान, सामाजिक प्रतिष्ठा र व्यावसायिक सम्बन्ध विस्तारका अवसरले युवाहरूलाई त्यतातर्फ तान्यो।

अन्तरास्ट्रिय क्लबहरुको समुदायमा प्रभाव बढेको बारेमा चितवन रोटरी क्लबका पुर्ब अध्यक्ष उत्तमलाल चुके यसरी आफ्नो धारणा ब्यक्त गर्नुहुन्छ–‘रोटरी तथा लायन्सजस्ता अन्तर्राष्ट्रिय संस्थाप्रति आकर्षण बढ्नुको मुख्य कारण उनीहरूको व्यवस्थित संगठन, स्पष्ट उद्देश्य, प्रभावकारी नेतृत्व, संस्थागत निरन्तरता र परिणाममुखी कार्यशैली हो। यस्ता संस्थाले सदस्यलाई समाजसेवासँगै नेतृत्व विकास, नेटवर्किङ र अन्तर्राष्ट्रिय सहकार्यका अवसर दिन्छन्। साथै ग्लोबल ग्रान्टजस्ता माध्यमबाट दीर्घकालीन परियोजना सञ्चालन गर्छन्। यसको विपरीत, धेरै स्थानीय क्लबहरू अझै व्यक्ति–केन्द्रित नेतृत्व, पद, बैठक र परम्परागत कार्यक्रममै सीमित छन्, जसका कारण संस्थागत निरन्तरता कमजोर र युवाको सहभागिता न्यून देखिन्छ।’

हाइब्रिड बीउले रैथाने बीउलाई विस्थापित गरेझैँ, अन्तर्राष्ट्रिय क्लबहरूले स्थानीय क्लबहरूलाई पनि ओझेलमा पारेकोमा कसैको दुई मत नरहला। यहि सन्दर्भमा दियालो क्लबका पुर्ब निर्देशक सिताराम भट्ट भन्नुहुन्छ(ूजसरी हाइब्रिड बीउको विस्तारले रैथाने बीउको मौलिकता, अनुकूलन क्षमता र जैविक विविधतालाई कमजोर बनायो, त्यसरी नै अन्तर्राष्ट्रिय क्लब र दातामुखी संस्थाहरूको प्रभावले स्थानीय क्लबहरूको आकर्षण पनि घटाएको छ।

अन्तर्राष्ट्रिय क्लबहरूले स्रोत, प्रविधि, तालिम, सञ्जाल र अवसर विस्तार गरेसँगै धेरै स्थानीय क्लबहरू ओझेलमा परेका छन्।यद्यपि, स्थानीय क्लबहरूको महत्व आज पनि उत्तिकै छ। किनभने स्थानीय समस्या बुझ्ने, समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने र दीर्घकालीन सामाजिक परिवर्तनका लागि काम गर्ने क्षमता सबैभन्दा बढी यिनै संस्थाहरूमा हुन्छ।

राईनो, युथ, दियालो जस्ता संस्थाहरूले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर मात्र पुग्दैन। नयाँ नेतृत्वलाई अवसर दिनु, आर्थिक आत्मनिर्भरता निर्माण गर्नु, प्रविधिमैत्री बन्नु र समुदायका वर्तमान आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्नु समयको माग हो। कयदि यस्ता स्थानीय क्लबहरू क्रमशः निष्क्रिय हुँदै जाने हो भने समाजले केवल केही संस्था गुमाउँदैन, उसले आफ्नो सामाजिक पूँजी, नागरिक सहभागिता र स्वयंसेवाको गौरवशाली परम्परा पनि गुमाउँछ।
सायद अहिले पनि धेरै ढिलो भएको छैन। सही नेतृत्व, स्पष्ट दृष्टि र समुदायको साथ पाए यी संस्थाहरू फेरि एकपटक चितवनको सामाजिक जीवनमा नयाँ ऊर्जा भर्न सक्छन्।

( लेखकःसिनर्जी एफ.एम.का संस्थापक स्टेशन मेनेजर हुनुहुन्छ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>