अर्थ
भरतपुरको सबस्टेशनमा जोडिनेगरी देवघाट र गैंडाकोट क्षेत्रमा सवा १० अर्ब लगानीमा जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं, असाेज २-
गण्डकीको तनहुँ र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) सीमामा रहेको कालीगण्डकी नदीको जलस्रोतलाई उपयोग गरी ४७.७ मेगावाट क्षमताको ‘कालिका कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ ।
मौलाकालिका हाइड्रो पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको यो अर्ध–जलाशययुक्त (पिकिङ रन अफ रिभर – पीआरओआर) आयोजनाको विस्तृत अध्ययन तथा संशोधित डिजाइनपछि पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) प्रतिवेदन तयार पारिएको छ ।
सुरुमा ३८.१६ मेगावाट क्षमताका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको यो आयोजनामा प्राविधिक सुधार तथा मेसिनरी उपकरणहरूको स्तरोन्नति गरी ९.५४ मेगावाट क्षमता थप गरेर ४७.७ मेगावाट पुर्याइएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय ऊर्जा प्रणालीमा वार्षिक २७९.९५ गिगावाट घण्टा (जीडब्लूएच) स्वच्छ ऊर्जा थप गर्ने लक्ष्य राखिएको यो आयोजना देशको ऊर्जा सुरक्षा र आर्थिक विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
यो आयोजना गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ३ मा फैलिएको छ ।
आयोजनाका सम्पूर्ण मुख्य संरचनाहरू समुद्र सतहदेखि १७८ मिटरदेखि २०१ मिटरको उचाइभित्र पर्ने गरी प्रस्ताव गरिएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामभन्दा करिब ४.५ देखि ६ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा बाँध निर्माण हुनेछ ।
आयोजनामा पहिले प्रस्ताव गरिएको साधारण ब्यारेजको सट्टा बाढी वहन क्षमता बढाउन र गेग्रान व्यवस्थापन सहज बनाउन पियानो कि वेयिर (पीकेडब्ल्यू) सहितको ब्यारेज संरचना निर्माण गरिने एसईआईए प्रतिवेदनमा उल्लेख छ ।
ब्यारेजको लम्बाइ १३९.६ मिटर र उचाइ १७ मिटर रहनेछ भने यसमा १३.५ मिटर चौडाइ र १५ मिटर उचाइ भएका ६ वटा रेडियल गेटहरू राखिनेछन् । आयोजनाको डिजाइन डिस्चार्ज २५३ घनमिटर प्रतिसेकेन्डबाट बढाएर ३००.२२ घनमिटर प्रतिसेकेन्ड पुर्याइएको छ ।
विद्युत्गृह कालीगण्डकी नदीको बायाँ किनार (देवघाट–५) मा सतही संरचनाका रूपमा ७५ मिटर लम्बाइ र १७ मिटर चौडाइमा निर्माण गरिनेछ । विद्युत्गृहभित्र १५.९ मेगावाट क्षमताका तीन वटा भर्टिकल एक्सिस काप्लान टर्बाइन, १८.७०६ एमभीए क्षमताका तीन वटा जेनेरेटर र ५७ एमभीएको एउटा मुख्य ट्रान्सफर्मर जडान गरिनेछ । उत्पादित बिजुलीलाई १३२ केभी क्षमताको १० किलोमिटर लामो प्रसारण लाइनमार्फत चितवनस्थित नयाँ भरतपुर सब–स्टेसनमा जोडिने कार्यतालिका छ ।
आयोजनाको निर्माण तथा सञ्चालन मौलाकालिका हाइड्रो पावर कम्पनी लिमिटेड काठमाडौँले गर्ने उल्लेख छ । निर्माण कार्यतालिका अनुसार आयोजनाका सम्पूर्ण निर्माण कार्य करिब ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण तालिकाअनुसार प्रारम्भिक क्याम्प स्थापना, पहुँच मार्ग सुधार, नदी फर्काउने (डाइभर्सन) काम पहिलो चरणमा गरिनेछ भने दोस्रो चरणमा वेयर, इन्टेक, बालुवा थिग्राउने संरचना, पेनस्टक र विद्युत्गृह निर्माण गरिनेछ ।
१० अर्ब १५ करोड कुल लगानी र ७५ः२५ को वित्तीय संरचना
४७.७ मेगावाट क्षमतामा स्तरोन्नति भएपछि कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याज (आईडीसी) सहित १० अर्ब १५ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
निर्माण अवधिको ब्याजबाहेक आयोजनाको आधारभूत लागत ९ अर्ब २० करोड ५० लाख रुपैयाँ छ । यसअघि ३८.१६ मेगावाट हुँदा आयोजनाको आईडीसीसहितको लागत ८ अर्ब ७४ करोड ७६ लाख ५२ हजार रुपैयाँ अनुमान गरिएको थियो । क्षमता विस्तार र समसामयिक मूल्य समायोजनका कारण लागतमा केही वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिमेगावाट लागत २१ करोड २७ लाख ८८ हजार रुपैयाँ हुन आउँछ ।
प्रवर्द्धक कम्पनीले लगानी जोहो गर्न ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) को वित्तीय अनुपात (७५ः२५ डेट–इक्विटी रेसियो) तय गरेको छ ।
यसअनुसार कुल पुँजीको ७५ प्रतिशत रकम विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमार्फत दीर्घकालीन ऋणका रूपमा जुटाइनेछ भने बाँकी २५ प्रतिशत रकम संस्थापक शेयरधनीहरूको लगानी तथा पछि सर्वसाधारण र स्थानीय बासिन्दालाई निष्कासन गरिने प्राथमिक शेयर (आईपीओ) मार्फत सङ्कलन गरिनेछ ।
वित्तीय प्रक्षेपणमा ऋणको औसत ब्याजदर १०.५ प्रतिशत मानिएको छ । वित्तीय विश्लेषण अनुसार आयोजनाको आन्तरिक प्रतिफल दर (आईआरआर) १३.७५ प्रतिशत, खुद वर्तमान मूल्य (एनपीभी) ३ अर्ब १५ करोड ७७ लाख ४२ हजार रुपैयाँ, फाइदा–लागत अनुपात (बी/सी रेसियो) १.३५ र साधारण लगानी फिर्ता अवधि ६.३७ वर्ष (छुटसहित १०.१८ वर्ष) रहने देखिएको छ ।
























