राजनीति
जेनजी आन्दोलनमा गोली नचलाउनू भनेको हुँः अध्यक्ष ओली

काठमाडौं, असोज ३-
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारबाट दमन नगर्नु भन्दाभन्दै घुसपैठ गरेर गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले गत वर्ष हत्याको योजना रचना गरिएको आरोप लगाए ।
२३ गते अनावश्यक ढंगले हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको उनको जिकिर छ । त्यसलाई निहुँ बनाएर भोलिपल्ट लुटपाट, हिंसा, आतंक, अराजकता फिँजाइएको बताए । काँक्रा आफूले खाएर बियाँ अरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको उनको भनाइ छ । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भए पनि कसरी गोली चल्यो भन्ने कुरा षड्यन्त्रपूर्ण रहेको उनको भनाइ छ ।
“गोली हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ,” उनले भने, “दमन भयो किन रु दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए ।”
सिंहदरबार भदौ २४ कै आक्रोश, आवेश र उत्तेजनाबाट मात्रै नजलेको उनको दाबी छ । सिंहदरबार जलाउने कुरा अगाडिदेखि चलेको उनको भनाइ छ ।
“हाम्रा घरहरू जलाइएका तस्बिरहरू अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो । संसद् भवन जलाइएका तस्बिर अगाडिदेखि देखाइएका थिए,” ओलीले भने, “त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरूको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू भएका हुन् ।”
























