चितवन विशेष

अनुसन्धान संस्कृतिको नयाँ अध्यायः सेन्ट्रल मोडल कलेजबाट अनुसन्धान जर्नलको पहिलो अंक सार्वजनिक

Banner

भरतपुर,असोज २-

सेन्ट्रल मोडल कलेजको अनुसन्धान व्यवस्थापन केन्द्रबाट प्रकाशित सेन्ट्रल जर्नल अफ मल्टिडिसिप्लिनरी रिसर्चको पहिलो अंक सार्वजनिक गरिएको छ। वार्षिक रूपमा प्रकाशन हुने बहुविषयगत अनुसन्धानमूलक जर्नलको पहिलो अंक एक समारोहबीच सार्वजनिक गरिएको हो। चितवनमा अनुसन्धानमुखी उच्च शिक्षालाई थप प्रवर्द्धन गर्ने उद्देश्यले जर्नल प्रकाशन सुरु गरिएको कलेजले जनाएको छ। जर्नलले अनुसन्धान, शैक्षिक प्रकाशन तथा विभिन्न शैक्षिक संस्थाबीच सहकार्यको वातावरण निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन प्राध्यापक डा. महानन्द चालिसेले अनुसन्धानमा आधारित शिक्षा गुणस्तरीय उच्च शिक्षाको महत्वपूर्ण आधार भएको बताए। निजी तथा सामुदायिक कलेजहरूले अनुसन्धान संस्कृतिलाई संस्थागत गर्न अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले शिक्षक तथा विद्यार्थी दुवैलाई अनुसन्धान र प्रकाशनमा सहभागी गराउँदै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

जर्नलका संरक्षक यज्ञविलास (वाइ.बी) पौडेलले सेन्ट्रल मोडल कलेजले ‘गुणस्तरीय शिक्षा र करियर’को अवधारणालाई व्यवहारमा उतार्दै शिक्षालाई सीप, अनुसन्धान र रोजगारीसँग जोडेर अघि बढाइरहेको बताए। अनुसन्धानमा गरिएको लगानीले संस्थाको दीर्घकालीन शैक्षिक उत्कृष्टतामा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

जर्नलका प्रधानसम्पादक डा. टी.आर. चालिसेले अनुसन्धान जर्नल प्रकाशन केवल एउटा प्रकाशनको सुरुवात नभई चितवनमा अनुसन्धान संस्कृतिको विस्तार गर्ने साझा अभियान भएको बताए। उनले चितवनका विभिन्न कलेजबीच अनुसन्धान, संयुक्त गोष्ठी, प्रकाशन तथा शैक्षिक सहकार्यलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए।

‘एउटा संस्थाको मात्र प्रगति पर्याप्त हुँदैन, समग्र चितवनलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन सबै संस्थाको सहकार्य आवश्यक छ,’ उनले बताए। जर्नलको पहिलो अंकको महत्वपूर्ण विशेषता समावेशी प्रकाशन नीति रहेको कलेजले जनाएको छ। प्रकाशित अनुसन्धानमूलक लेखमध्ये ६० प्रतिशत सेन्ट्रल मोडल कलेजका शिक्षक तथा अनुसन्धानकर्ताका रहेका छन् भने ४० प्रतिशत चितवनसहित देशका अन्य कलेज तथा संस्थाका अनुसन्धानकर्ताका लेख समावेश गरिएको छ।

यसले जर्नललाई कुनै एक संस्थामा सीमित नराखी क्षेत्रीय तथा राष्ट्रिय अनुसन्धानको साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य देखाएको कलेजको भनाइ छ। जर्नलमा व्यवस्थापन, होटल व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, सार्वजनिक स्वास्थ्य तथा सामाजिक विज्ञानलगायत विभिन्न विषयसँग सम्बन्धित अनुसन्धान समेटिएका छन्। जर्नलका अनुसन्धान लेखहरू दुईतर्फी गोप्य समीक्षण प्रणालीअन्तर्गत परीक्षण गरी प्रकाशन गरिएको जनाइएको छ।

आगामी दिनमा जर्नललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप व्यवस्थित बनाउने तयारीसमेत गरिएको छ। अन्तर्राष्ट्रिय डिजिटल पहिचान नम्बर, क्रसरेफ तथा अन्तर्राष्ट्रिय प्रकाशन मापदण्डअनुसार जर्नललाई सुदृढ बनाउँदै लैजाने कलेजको योजना छ। सेन्ट्रल मोडल कलेजले पछिल्ला केही वर्षदेखि अनुसन्धानमा आधारित शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ। विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा तथ्याङ्क व्यवस्थापन तथा विश्लेषणसम्बन्धी तालिम, अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न देशका शैक्षिक संस्थासँगको सहकार्यले कलेजको अनुसन्धानमुखी वातावरण निर्माणमा योगदान पुर्‍याएको कलेजको भनाइ छ।

कार्यक्रममा सहभागी शिक्षाविद्, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूले अनुसन्धान जर्नलले चितवनमा अनुसन्धान र शैक्षिक प्रकाशनको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनीहरूले आगामी दिनमा विभिन्न कलेजबीच संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुभव आदानप्रदान तथा साझा शैक्षिक मञ्च निर्माण गर्नुपर्नेमा जोड दिए।

होटल व्यवस्थापन (विएचएम) र सूचना प्रविधि व्यवस्थापन (विआइटिएम)मा सीमित सिट

यसैबीच, सेन्ट्रल मोडल कलेजले होटल व्यवस्थापन (विएचएम) र सूचना प्रविधि व्यवस्थापन (विआइटिएम) मा स्नातक तहका लागि भर्ना खुला रहेको जनाएको छ। दुवै कार्यक्रममा सीमित सिट मात्र बाँकी रहेको कलेज प्रशासनले जानकारी दिएको छ। गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ, अनुसन्धानमुखी शैक्षिक वातावरण तथा करियरका अवसर खोजिरहेका विद्यार्थीलाई कलेजमा सम्पर्क गरी समयमै आफ्नो सिट सुरक्षित गर्न प्रशासनले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>