समाचार
ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा

सङ्गीता राई ,
सुनसरी, भदौ ९ –
आमा नरमाया हुक्पा चोङ्बाङ (कुरुम्बाङ) र बुबा पासाहाङ हुक्पा चोङ्बाङका काइँला छोरा हुनुहुन्छ मोहन हुक्पा चोङ्बाङ । उहाँका बुबा ब्रिटिस गोर्खामा भर्ती भएपछि परिवार मलेसियामा बसेको थियो । त्यही क्रममा चोङ्बाङको जन्म २०१२ सालमा मलेसियाको कुलाङमा भएको थियो । जन्मिएको १८ महिनापछि तेह्रथुम घरमा नेपाल ल्याइनुभएका उहाँको बाल्यकाल गाउँमै बित्यो । त्यहीँ कक्षा ५ सम्मको अध्ययन पूरा गर्नुभयो ।
बाल्यकालदेखि नै बुबाको लाहुरे जीवनबाट प्रभावित चोङ्बाङलाई गोर्खा सैनिक बन्ने प्रेरणा पनि घरबाटै मिल्यो । “सानो हुँदै बाबाले दौडाउने, शारीरिक अभ्यास गराउनुहुन्थ्यो । बाबा लाहुरे भएकै कारण उहाँकै प्रेरणाबाट म पनि लाहुरे बन्न सफल भएँ,” चोङ्बाङले विगत सम्झँदै भन्नुभयो । विद्यालयमा अध्ययन गर्दागर्दै उहाँका दाजुहरू पनि ब्रिटिस लाहुरे लाग्नुभयो । जेठा दाजु भारतीय गोर्खामा भर्ती हुनुभयो भने दुई दाइ र भाइहरू पनि ब्रिटिस गोर्खामा भर्ती हुनुभयो । कान्छा भाइ भने अहिले हङकङमा हुनुहुन्छ ।
आधुनिक सहरका रूपमा परिचित धरान कुनै समय घना जङ्गलले ढाकिएको क्षेत्र थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गरेको धरान (धराप) बाट यसको नाम रहन गएको बताइन्छ । आरावालाहरूको मेहनतले खारिएको धरान कालान्तरमा ‘लाहुरेको सहर’का रूपमा समेत परिचित भयो । समय क्रममा धरान ‘लाहुरेको सहर’का रूपमा मात्र नभई बुढासुब्बा, पिण्डेश्वरलगायत धार्मिक तथा पर्यटकीयस्थलका कारण पनि परिचित बन्यो ।
विसं २०१० मा धरानमा ब्रिटिस गोर्खा भर्ती केन्द्र स्थापना भएपछि पूर्वी नेपालका युवाहरू भर्ती हुन सयौँको सङ्ख्यामा आउन थाले । त्यतिबेला धरानस्थित घोपा क्याम्पभित्र ब्रिटिस गोर्खाको भर्ती केन्द्र रहेको थियो । लाहुरे बन्ने चाहना बोकेर चोङ्बाङ पनि २०२९ साउनमा खुलेको स्थानीय भर्तीमा सहभागी हुन तेह्रथुमबाट धरान झर्नुभयो । “पाँच सयमध्ये मलगायत नौ जना छनोटमा परेका थियौँ । त्यतिबेला लाहुरे लाग्न पढाई पाँच कक्षा पास गरे पुग्थ्यो । बाँकी दौडाइ, उचाइ र तौल मात्र लिइन्थ्यो,” उहाँले भन्नुभयो ।
भर्तीमा छनोट भएपछि उहाँलाई काठमाडौँबाट कलकत्ता हुँदै हङकङ पु¥याइयो । हङकङमा नौ महिनाको तालिमपछि उहाँ त्यहाँको ७ गोर्खा राइफल्स (सेभेन ७ जीआर) को युनिटमा पर्नुभयो । सुरुमा ‘बी कम्पनी’मा दुई वर्ष सेवा गरेपछि उहाँ ‘सपोर्ट कम्पनी’मा खटिनुभयो । त्यहाँ १२ वर्ष सेवा गरेपछि पुनः दुई वर्ष ‘ए कम्पनी’मा पठाइयो ।
ब्रिटिस गोर्खामा सेवा गर्ने क्रममा उहाँले युद्धको कठिन अनुभव समेत सामना गर्नुभयो । विसं २०३९ मा फकल्यान्ड टापुमा भएको युद्धमा करिब दुई महिनासम्म सहभागी भई सकुशल फर्किएको चोङ्बाङले बताउनुभयो । युद्धपछि उहाँ बेलायतमा तीन वर्ष बसेपछि सेवानिवृत्त भई नेपाल फर्किनुभयो । ब्रिटिस गोर्खाको सेवाबाट फर्किए पनि उहाँको फौजी तथा सुरक्षा सेवासँगको सम्बन्ध भने टुटेन । २०४५ सालमा उहाँ पुनः ब्रुनाइ जीआरयूमा सुरक्षा सेवाका लागि जानुभयो । त्यहाँ १२ वर्ष सुरक्षा सेवामा काम गरेपछि उहाँ २०५६ सालमा नेपाल फर्किनुभयो ।
नेपाल फर्किएपछि पनि उहाँ लाहुरे भर्ती प्रक्रियासँग जोडिएको काममा सक्रिय रहनुभयो । २०५६ सालदेखि २०६७ सालसम्म धरानमा ‘गल्ला एसआरए’ का रूपमा काम गर्नुभयो । त्यस क्रममा लाहुरे बन्न चाहने युवालाई भर्ती प्रक्रियाका लागि छनोट गर्ने काममा उहाँले १२ वर्ष बिताउनुभयो । तालिम, विभिन्न कम्पनीमा सेवा, फकल्यान्डको युद्धभूमिको अनुभव, बेलायत बसाइ, ब्रुनाइको सुरक्षा सेवा र नेपाल फर्किएर लाहुरे भर्ती छनोटको कामसम्म आइपुग्दा उहाँले आफ्नो जीवनका करिब ४० वर्ष लाहुरे तथा फौजी सेवामै बिताउनुभयो ।
समाज सेवाको यात्रा
तेह्रथुमबाट बोकेको लाहुरे बन्ने सपना चार दशकपछि एउटा लामो जीवनयात्रामा परिणत भयो । विदेशमा सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नै समाज र देशका लागि प्रयोग गर्ने सोचका साथ उहाँ २०६८ सालदेखि समाजसेवामा लाग्नुभयो । मोहन हुक्पा चोङ्बाङ अहिले धेरैका लागि आफ्नो नामभन्दा पनि ‘मोहन मामा’का रूपमा परिचित हुनुहुन्छ । बुढापाका हुन् वा बालबालिका, उहाँलाई धेरैले ९मोहन मामा० भनेर चिन्ने गर्छन् ।
“विदेशमा सिकेका कुरालाई नेपालमा पनि प्रयोग गरेर त्यहाँ भएका उन्नति प्रगतिका कुरा नेपालमा पनि लागू गरी देशका लागि केही योगदान गर्न मन लाग्यो अनि समाज सेवा सुरु गरे,” उहाँले भन्नुभयो । विदेशका धेरै देश घुम्ने क्रममा उहाँलाई नेपालको जस्तो प्राकृतिक विविधता र मौसमी विशेषता अन्यत्र कतै लागेन । “धेरै देश घुमियो, तर नेपालको जस्तो सिजनल मौसम खासै देखिएन । आफ्नो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो,” अनि समाजसेवाको बाटो रोजेँ’’, उहाँले भन्नुहुन्छ ।
समाजसेवामा लागेपछि सबैभन्दा पहिले उहाँले किरात याक्थुङ चुम्लुङको जिल्ला अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभयो । चुम्लुङको पूर्वाधार विकासमा समेत उहाँको योगदान महत्त्वपूर्ण रहेको छ । समाजसेवाकै क्रममा २०७५ सालमा तेह्रथुममा फुटबल मैदान समेत निर्माण गरिदिएको उहाँले बताउनुभयो । मोरङको बेलबारीमा उहाँले उपलब्ध गराउनुभएको दुई कठ्ठा जग्गामा अहिले पाँच कोठाको बल्वाई आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । यहाँ दैनिक रुपमा स्थानीयले स्वास्थ्य सेवा पाउनुका साथै रोजगारीको अवसर समेत पाएको केन्द्रका जनस्वास्थ्य निरीक्षक विशाल धिताल बताउनुहुन्छ ।
मोरङकै बल्वाईमा पूजापाठ गर्नका लागि उहाँले आफ्नी स्वर्गीय आमाबुबाको नाममा एक कठ्ठा जग्गा उपलब्ध प्रदान गर्नु भएको छ । त्यसैगरी धरान–४ मा निर्माण गरिएको पर्यटकीय स्थल ढुङ्गेकला पार्कमा रु १० लाखभन्दा बढीको लागतमा चौतारा निर्माण गरिदिनुभएको छ भने श्रीजङ्गाको सालिक निर्माणमा करिब रु एक लाख ४० हजार सहयोग गर्नुभएको छ ।
धरान–२० स्थित सुलिकोट पदमार्गमा ‘सिलाम साक्मा पदमार्ग’ निर्माणका लागिसमेत उहाँले सहयोग गर्नुभएको छ । उक्त पदमार्ग करिब रु।३७ लाख भन्दा बढीको लागतमा पदमार्ग निर्माण गरिएको छ । यस ठाउँमा अहिले दैनिक रुपमा दुई सय बढी पर्यटक घुम्नका लागि पुग्ने गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा गरिब तथा निमुखा परिवार र विभिन्न सङ्घसंस्थालाई सहयोग गर्ने उहाँको आदत नै बनेको छ । कोरोना महामारीका समयमा विपन्न परिवारलाई उहाँले खाद्यान्न सहयोग गर्नुभएको थियो । त्यस्तै, सङ्खुवासभा र इलाममा रहेका चुम्लुङ हिम निर्माणमा समेत उहाँले सहयोग गर्नुभएको छ । तीन छोरा र एक छोरीका बुबा उहाँ श्रीमती र एक नातिसँगै धरानमा बस्दै आउनुभएको छ । उहाँका तीनै छोरा र छोरी बेलायतको लण्डनमा छन् । उमेर बढ्दै गए पनि समाजका लागि केही गरौँ भन्ने उहाँको इच्छाशक्ति र सेवाभाव भने अझै उस्तै छ । रासस

























