Breaking News
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्यो बर्खास्त

नवलपुर, भदौ ८-
गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ‘होम ट्युसन’ पढाउने क्रममा दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि प्रहरीले निज शिक्षकलाई पक्राउ गरेको छ भने विद्यालयले सेवाबाट बर्खास्त गरेको छ ।
दुर्व्यवहार गर्ने शिक्षकलाई भदौ ६ गते गैंडाकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय मुरारी तिमिल्सिना रहेका छन् । बाल यौन दुर्व्यवहार मुद्धामा छ दिनको म्याद लिएर तिमिल्सिनामाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता अनिल पण्डितले जानकारी दिए ।
‘घटना भदौ ३ गतेतिरको रहेछ । हामीले ६ गते नियन्त्रणमा लिएर बाल यौन दुर्व्यवहार मुद्धामा अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले एक विज्ञप्ति जारी गरी घटनामा संलग्न भनिएका शिक्षकलाई विद्यालयबाट तत्काल निष्कासन गरिसकिएको जानकारी दिए ।
विज्ञप्तिअनुसार घटना विद्यालय परिसर वा विद्यालयको नियमित समयमा नभई सम्बन्धित शिक्षकको निजी समयमा विद्यार्थीको निवासमा होम ट्युसन पढाउने क्रममा भएको हो।
‘घटनाको जानकारी पाउनासाथ विद्यालय व्यवस्थापन समिति, प्रशासन तथा आदरणीय अभिभावकहरूसँग घनिभुत छलफल गरी निज शिक्षकलाई विद्यालयको सेवाबाट तत्काल प्रभावले निष्कासन (बर्खास्त) गरिसकिएको छ’, उनले भने ।
घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउने कार्यमा प्रहरी–प्रशासनबाट भइरहेको कानुनी अनुसन्धानमा विद्यालयको पूर्ण सहयोग र प्रतिबद्धता रहने विज्ञप्तिमा उल्लेख छ।

























