देश/प्रदेश
मुहान संरक्षणसँगै पानी–पुनर्भरणतर्फ काभ्रेका स्थानीय तह

काभ्रेपलाञ्चोक, भदौ ९-
जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न जिल्लाका स्थानीय तह पानी–पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका छन् ।
रोशी गाउँपालिकाले त्यसका लागि योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिका पनि पानीको स्रोत पहिचान योजनाको तरखरमा छ । रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’ को क्षेत्रगत परीक्षण तथा परामर्श थालनी गरेको छ ।
हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (ही–कास)परियोजनाअन्तर्गत अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड) को संयुक्त आयोजनामा त्यस्तो कार्यक्रम अघि बढाउन लागिएको हो ।
त्यसअन्तर्गत जलवायु परिवर्तनका जोखिमलाई सम्बोधन गर्न खानेपानी तथा मुहान (स्प्रिङ) व्यवस्थापन, जल पुनर्भरण प्रणाली, नवीकरणीय ऊर्जाको पहुँच र कृषि–जैवविविधतालाई एउटै एकीकृत प्रणालीका रुपमा अगाडि बढाउने अवधारणाअनुसार कार्यक्रम तयार पारिएको इसिमोडको कार्यक्रम अधिकृत सदीक्षा गुरागाईंले बताउनुभयो ।
त्यसका लागि पहिलो चरणमा रोशी गाउँपालिकाको–१ स्याउरेटार र २ को चण्डीबेसीमा कार्यक्रम स्थानीय महिला, कृषक तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागि गराई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोण आत्मसात गर्दै सीमान्तकृत समुदायका आवश्यकता र अनुभवलाई ‘अनुकूलन औजार’ मा समेट्ने प्रयास गरिएको जनाइएको छ ।
खानेपानीको पहुँच कम हुँदै गएको स्थानमा मुहान संरक्षण गर्दै पुनर्भरणका विधिलाई प्राथमिकता दिइएको छ । उहाँका अनुसार जोखिम नक्साङ्कन, जल बाँडफाँड र प्रणालीको आकार निर्धारणजस्ता व्यावहारिक औजारको परीक्षण गरिरहेका छन् । हाल गाउँपालिकाको दुई वटा वडामा करिब एक हजार ५०० बहुउपयोगी बिरुवासमेत रोपिएका छन् ।
यसै क्रममा रोशीमा मुहान÷जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसमेत गरिनेछ । यसका लागि हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गिकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनार्थ रोशी गाउँपालिका, इसिमोड र सिप्रेडबीच आशय–पत्रमा हस्ताक्षर भइसकेको छ ।
आशयपत्रमा मुहान/जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागिसमेत काम गर्ने उल्लेख गरिएको छ ।
यस्तै स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन् । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जन गर्ने परियोजनाको योजना छ । रोशीमा २२ प्रतिशत पानीको मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैबीच बेथानचोकमा ३६९ पानीका मुहान पहिचान भएका छन् । इसिमोडले गरेको सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्त्वपूर्ण तथ्याङ्क प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । उहाँका अनुसार पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रुपमा प्रक्रिया अघि बढाइनेछ । अधिकारीले भन्नुभयो, “जलवायु परिवर्तनका कारण भविष्यमा बढ्दो पानीको सङ्कट न्यूनीकरण गर्न थप संवेदनशील हुनुपर्ने भएकाले अहिले नै मुहान संरक्षण तथा पानी–पुनर्भरण सबैको साझा प्रयास आवश्यक छ ।”
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणले पानीको मूल र मुहान क्रमशः सुक्दै गएको देखिएको छ । बाढीपहिरो, वनफँडानी, जथाभावीका पूर्वाधार, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको जनाइएको छ । सन् २०२४ जुनमा सम्पन्न सर्वेक्षणमा जिल्लाको सात स्थानीय तहमा पाँच हजार ६८९ कूल स्रोत मापन गरिएको थियो । उक्त सर्वेक्षणमा पाँच हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए । पछिल्लो सर्वेक्षणअनुसार २७ प्रतिशत अर्थात् एक हजार ५२१ स्रोत सुक्खा भएको पाइएको छ । रासस

























