Breaking News

हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएपछि पछ्याउँदै गएका गैडाकोटका दुई वर्षे बालक, हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

Banner

नवलपुर,भदौ ४-

पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट हराएका दुई वर्षीय बालक शिवान तामाङ बिहीबार जंगलमा फेला परेका हुन् । बालक हराएपछि स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा तीन दिनपछि घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ । रोजगारीका क्रममा बालकका आमाबुवा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।

गत मंगलबार हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । शङ्खदेवी सामुदायिक वननजिकै रहेको घरबाट बिहान तरकारीको जोहो गर्न हजुरआमा यामकुमारी आले मगर जंगलतर्फ च्याउ टिप्न लागिन् । बालक पनि हजुरआमा पछ्याउँदै वनतर्फ लागे । छिमेकीले बालकलाई वनतर्फ गएको देखेपछि हजुरआमासँग भेट होला भन्ने सोचे । तर, हजुरआमाले नाति पछि लागेको थाहै पाइनन् । हजुरआमा एउटा बाटो र नाति अर्कोतर्फबाट जंगलभित्र पसेको प्रहरीको अनुमान छ ।

च्याउ टिपेर घर फर्किंदा नाति नदेखेपछि हजुरआमाले छिमेकीसँग सोधपुछ गरेको बताइन् । छिमेकीले तपाईाको पछि लाग्दै जंगलतिर नाति गएको भनेपछि खोजतलास सुरु भयो । तर, दुई रात बितिसक्दासमेत बालक फेला परेका थिएनन् । गाउँले र सुरक्षाकर्मीले हार मानेनन् । जंगलको भित्री क्षेत्रमा वन्यजन्तुले आक्रमण गरेको आशङ्कामा थप खोज्न सुरु गरे । मंगलबार एकाएक जङ्गलभित्र बालक रोएको आवाज आएपछि सबै जना खुसी भए । आवाज पछ्याउँदै जाँदा बालक सकुशल भेटिएको र उद्धार कार्यमा खटिएको टोली बालक भेटिएपछि ज्यादै भावुक बनेको एक सुरक्षाकर्मीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>