प्रवास
पुरानो घर भत्काउँदा मजदुरले भेटे सुनको खजाना

काठमाडौं, साउन ३१ –
पुरानो घर भत्काउने क्रममा मजदुरले सुनको पुरानो खजाना फेला पारेको घटना प्रकाशमा आएको छ । युरोपेली मुलुक बेल्जियमको इस्ट फ्ल्यान्डर्सस्थित एउटा घर मर्मतका क्रममा मजदुरले सो घरको भित्तामा सुनको ठुलो खजाना फेला पारेका हुन् ।
उक्त सुनको प्रचलित बजार मूल्य ९० लाख युरो रहेको बताइएको छ । भित्तामा सुनका इँटा र ऐतिहासिक सिक्का फेला परेको सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मजदुरहरूले भित्तामा पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका थिए। सोही क्रममा सुनको खजाना फेला परेको थियो ।
प्रहरीले सुन नियन्त्रणमा लिएको छ । बेल्जियमको कानुन अनुसार यो सुनको असली मालिकले पाँच वर्षभित्र दाबी गरिसक्नुपर्ने छ। यो सुन कसले राखेको हो भन्ने प्रस्ट भइसकेको छैन ।
असली मालिक दाबी गर्न नआएको खण्डमा सामाजिक कानुन अनुसार जमिनमा फेला परेको खजाना उक्त जमिनको धनी र फेला पार्ने व्यक्तिबिच बाँडिन्छ ।

























