अन्तर्राष्ट्रिय

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

Banner

वासिङ्ट, साउन ३०-

अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये सन्दिग्ध हमलाकारी पनि रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना डेट्रोइटबाट करिब २७२ किलोमिटर टाढा रहेको मिसौकी काउन्टीमा भएको हो । दिउँसो एउटा घरमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ तीन जना मृत अवस्थामा भेटिएका थिए भने एक जना घाइते अवस्थामा फेला परेका थिए । घाइतेलाई तत्काल अस्पताल लगिएको थियो ।

प्रहरीले सन्दिग्धको पहिचान ३९ वर्षीय चाड हिकम्यानका रूपमा गरेको छ । प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि प्रहरीले उनको खोजी अभियान सुरु गरेको थियो ।

सन्दिग्धको खोजी भइरहेका बेला अर्को एउटा घरमा पनि गोली चलेको र त्यहाँ थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले स्थानीय बासिन्दालाई हतियारसहितका हिकम्यान अत्यन्तै खतरनाक हुन सक्ने भन्दै सावधानी अपनाउन र उनीबाट टाढा रहन चेतावनी दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले सन्दिग्धको गाडी जंगल क्षेत्रमा फेला पारेको थियो । त्यसको केही दूरीमा सन्दिग्ध हिकम्यान र अर्का एक व्यक्तिको शवसमेत फेला परेको प्रहरीले जनाएको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

गोलीबारीको कारण भने अझै स्पष्ट भएको छैन । मृतकहरूबिच कुनै पारिवारिक वा अन्य सम्बन्ध थियो कि थिएन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले मृतकहरूको पहिचान तत्काल सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनालाई अत्यन्तै दुःखद र समुदायका लागि चुनौतीपूर्ण घटना भन्दै अनुसन्धानपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । साथै, सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन आग्रह गरिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>