चितवन विशेष
निर्माण व्यवसायीको राष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुँदै

चितवन, साउन २६-
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय सम्मेलन–२०८३ आयोजना गर्ने भएको छ ।
महासंघका अनुसार सम्मेलन २०८३ साल भदौ १५ गते चितवनको सौराहास्थित होटल रोयल टुलिपमा आयोजना हुनेछ । सम्मेलनमा महासंघअन्तर्गतका सातै प्रदेश महासंघ, ७७ जिल्ला निर्माण व्यवसायी संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
महासंघका प्रवक्ता मंगल बहादुर शाहीका अनुसार सम्मेलन केवल औपचारिक भेला मात्र नभई निर्माण क्षेत्रले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि साझा धारणा र ठोस कार्ययोजना निर्माण गर्ने महत्वपूर्ण अवसर हुनेछ । प्रदेश र जिल्लास्तरमा निर्माण व्यवसायीले भोगिरहेका समस्या फरक–फरक देखिए पनि त्यसको मूल कारण नीतिगत, कानुनी तथा कार्यान्वयन पक्षसँग जोडिएको भन्दै सम्मेलनमार्फत साझा एजेन्डा तय गरिने उनले बताए ।
प्रवक्ता शाहीले निर्माण व्यवसायीको समस्या समाधान नभएसम्म देशको विकास निर्माणले गति लिन सक्दैन भन्दै सरकार, निर्माण व्यवसायी र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनका अनुसार सार्वजनिक निर्माणका आयोजना समयमा सम्पन्न हुन नसक्नु, निर्माण व्यवसायीको भुक्तानीमा ढिलाइ, मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिदसम्बन्धी समस्या तथा आयोजना व्यवस्थापनलगायत विषय सम्मेलनका प्रमुख एजेन्डा बन्नेछन् ।
आयोजना समयमै सम्पन्न गर्ने विषयलाई सम्मेलनमा विशेष प्राथमिकता दिइने प्रवक्ता शाहीले बताए । जिल्लाभित्र सञ्चालन भइरहेका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न देखिएका व्यवहारिक तथा व्यवस्थापकीय समस्या पहिचान गरी त्यसको समाधानका उपायबारे छलफल गरिने उनको भनाइ छ । साथै, निर्माण व्यवसायीले आफूले जिम्मेवारी लिएका आयोजना तोकिएको समयमै सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्नुपर्ने विषयमा समेत सम्मेलनमार्फत व्यवसायीहरूलाई थप जिम्मेवार र प्रतिबद्ध बन्न उत्प्रेरित गरिने उनले बताए।
उनका अनुसार निर्माण व्यवसायीको हकहितका विषय उठाउनु महासंघको दायित्व भए पनि व्यवसायीले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने मान्यता स्थापित गर्न आवश्यक छ । ‘समस्या समाधानका लागि सरकारसँग माग राख्ने मात्र होइन, आफूले जिम्मा लिएका आयोजनाको काम समयमै सम्पन्न गर्ने र गुणस्तर कायम गर्ने जिम्मेवारी पनि निर्माण व्यवसायीले लिनुपर्छ’, शाहीले भने ।
महासंघले प्रदेश तथा जिल्ला संघबाट अध्यक्ष र महासचिव गरी दुई–दुई जना प्रतिनिधिको अनिवार्य सहभागिताका लागि आग्रह गरेको छ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि भदौ १४ गते दिउँसो २ बजेदेखि होटल चेक–इनको व्यवस्था गरिएको छ ।
प्रवक्ता शाहीका अनुसार पछिल्लो समय निर्माण क्षेत्रमा देखिएको आर्थिक संकटले व्यवसायी मात्र नभई समग्र अर्थतन्त्र, रोजगारी र विकास निर्माणको गतिमा समेत प्रत्यक्ष असर पारेको छ। त्यसैले निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन सरकारबाट तत्काल नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको उनले बताए ।
सम्मेलनमा सार्वजनिक खरिद, आयोजना कार्यान्वयन, म्याद थप , मूल्यवृद्धि, निर्माण सामग्रीको लागत, वित्तीय संकट, आयोजना समयमै सम्पन्न गर्ने रणनीति तथा निर्माण क्षेत्रलाई चलायमान बनाउने नीतिगत सुधारलगायतका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।
महासंघले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली तथा आवश्यक विवरण भदौ १० गतेभित्र महासंघको सचिवालयमा पठाउन प्रदेश तथा जिल्ला संघहरूलाई आग्रह गरेको छ ।
राष्ट्रिय सम्मेलन–२०८३ लाई निर्माण व्यवसायीहरूको साझा समस्या पहिचान गरी सरकारसमक्ष स्पष्ट र एकीकृत धारणा प्रस्तुत गर्ने, व्यवसायीलाई आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध बनाउने तथा निर्माण क्षेत्रको पुनरुत्थानका लागि ठोस रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

























