Uncategorized

भदौ ३ भित्र विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी

Banner

हेटौँडा, साउन २३-

वाग्मती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । काठमाडौंमा शनिबार बसेको नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ ३ भित्रै टुंग्याउने निर्णय गरेको हो ।

साउन ६ गतेदेखि अल्पमतमा पुगेका मुख्यमन्त्री बानियाँलाई संविधानले दिएको समय अब अन्तिम चरणमा पुगेको छ । भदौ ४ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण कांग्रेसले सत्ता जोगाउने प्रयासलाई तीव्र बनाएको छ । एमालेले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि वाग्मतीको राजनीति नयाँ मोडमा पुगेको थियो । तर, एमाले–नेकपा गठबन्धनभित्रै नेतृत्व र सरकार गठनबारे स्पष्टता नआउँदा नयाँ सरकार गठनको प्रक्रिया अझै अन्योलमा छ । यही राजनीतिक अन्योललाई अवसरका रूपमा हेर्दै कांग्रेसले साना दलहरूको समर्थन जुटाउने रणनीति अघि बढाएको देखिएको छ ।

बैठकपछि कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनले विश्वासको मत लिनु एक दिनअघि नै सबै सांसदलाई हेटौँडामा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले यो मुद्दालाई प्रदेशको मात्र नभई केन्द्रसम्म जोडिएको राजनीतिक विषयका रुपमा लिएको छ । बैठकले पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेतासँग परामर्श गर्ने निर्णय गरेको छ । साथै, मुख्यमन्त्री बानियाँलाई आवश्यक मत पुर्‍याउन शीर्ष नेतृत्वमार्फत अन्य दलसँग समन्वय र राजनीतिक संवाद तीव्र बनाउने निर्णय पनि गरिएको महर्जनले बताए ।

अब वाग्मतीमा प्रश्न केवल विश्वासको मतको मात्र होइन, कांग्रेसले अल्पमतको सरकारलाई राजनीतिक कौशलमार्फत जोगाउन सक्छ कि सक्दैन भन्ने बनेको छ । भदौ ३ को मतदानले बानियाँ सरकारको भविष्य मात्र होइन, प्रदेशको आगामी सत्ता समीकरण पनि तय गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>