देश/प्रदेश

कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल

Banner

कर्णाली, साउन ५ –

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ ।

करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहनुभएका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको अनुगमन सम्पन्न गरी मुगु हुँदै हुम्ला पुग्नुभएको हो ।

यात्राका क्रममा उहाँले कर्णाली राजमार्ग, सहायक सडक, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका भौतिक संरचनाको अनुगमन गर्नुभएको हो ।

सो क्रममा उहाँले सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी तथा स्थानीय नागरिकसँग छलफल र अन्तरक्रिया गरी स्थानीय आवश्यकता, माग र सुझाव सङ्कलन गरिएको राससलाई बताउनुभयो ।

अनुगमनका क्रममा उहाँले कर्णालीको विकासका लागि सरकारको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । “कर्णालीवासीले उठाएका वास्तविक समस्या, आवश्यकता र माग टिपोट गर्ने काम भएको छ । यस क्रममा महत्वपूर्ण सुझाव सङ्कलन भएका छन्”, उहाँले भन्नुभयो ।

स्थानीय बासिन्दाले कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्नुपर्ने, सडक सञ्जाल विस्तार गर्नुपर्ने, पुल निर्माण, खानेपानी, सञ्चार, सिँचाइ तथा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् ।

उहाँले कर्णालीका नागरिकका आवश्यकता र पूर्वाधारको वास्तविक अवस्था नजिकबाट बुझेर त्यसको प्राथमिकीकरण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

उहाँका स्वकीय सचिव निर्मल ज्ञवालीले बजेट विनियोजन भएका सडक आयोजनाको कार्यप्रगति तथा आवश्यक संशोधनका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । यसअघि खारेज गरिएको जुम्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुनःसञ्चालन गर्ने प्रतिबद्धता मन्त्री लम्सालले व्यक्त गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री लम्सालले मुगुको राराताल, जुम्लाको गुठीचौर क्षेत्र तथा चन्दननाथ मन्दिरको अवलोकन गर्नुभएको थियो ।

मन्त्री लम्सालको सचिवालयका अनुसार कर्णाली राजमार्गको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर सडक निर्माणको यथार्थपरक खाका तयार गर्ने उद्देश्यले लम्सालले यात्राका क्रममा अधिकांश दूरी आफैँ सवारी चलाएर स्थलगत निरीक्षण गर्नुभएको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>