देश/प्रदेश

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

Banner

काठमाडौँ, ४ साउनः 

सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट ) लागू गर्ने भएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा ‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारीका विषयमा छलफल भएको हो । छलफलमा विपद् व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अङ्ग हो ।  यस प्रणालीमार्फत मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपद्को चेतावनीसहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ ।

बैठकमा उपस्थित जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले हालसम्म विपद् पूर्वसूचनाका लागि टोल-फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गरिँदै आइएको जानकारी दिनुभयो । उहाँले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौँ समय लाग्ने समस्या रहेको बताउनुभयो ।

“सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ”, पराजुलीले भन्नुभयो, “मोबाइलमा साइरनजस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरेसम्म पनि ध्यानाकर्षण हुन्छ । यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ ।”

उहाँका अनुसार यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ । बाढीपहिरो मात्रै नभई अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी पठाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार गतवर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको थियो । प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि रु ४० करोडदेखि रु ७५ करोडसम्म लागत लाग्न सक्नेछ । यस विषयमा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल भइरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>