तनहुँ

घाँसमा केन्द्रित पशुपालनमा जोड दिँदै तनहुँका दुई कार्यालय

Banner

तनहुँ, असार २७-

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले यहाँका दुई कार्यालयले घाँसका बीउ उत्पादन गरी निःशुल्क वितरण गर्दै आएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र डिभिजन वन कार्यालयले किसानलाई घाँस केन्द्रित पशुपालनमा जोड दिन बिरुवा उत्पादन गरी वितरण गरेको हो ।

डिभिजन वन कार्यालयबाट ५० हजार र भेटेरिनरीबाट ४० हजार गरी विभिन्न प्रजातिका ९० हजार घाँसका बिरुवा उत्पादन गरिएको हो । पशु सेवा विज्ञ केन्द्रले पशुपालन व्यवसायमा लागत कमी गराउने र किसानलाई यसतर्फ आकर्षित गराउने उद्देश्यले राइखनियो, किम्बु, बडहर, निमारो, टाँकी, नेपियार, मोलाटोलगायत घाँसका बिरुवा उपलब्ध गराएको छ ।

दाना र चोकर नखुवाइकन पनि दूध र मासु उत्पादन वृद्धि गर्न सकिने हुँदा उन्नत जातका घाँसका बिरुवालाई प्राथमिकता दिइएको केन्द्रका वरिष्ठ मत्स्यविकास अधिकृत रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलको आन्तरिक स्रोतबाट बिरुवा उत्पादनलाई बर्सेनि निरन्तरता दिइएको छ ।

“उत्पादनमा आधारित अनुदान कार्यक्रमले पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “किसानलाई अनुदानका साथै गोठ निर्माण, गोठ सुधार र प्रजनन बोका प्रदान गर्दै आएका छौँ ।”

त्यसैगरी डिभिजन वन कार्यालयबाट घाँसजन्य, काठजन्य र जडिबुटीजन्य बिरुवा उत्पादन पछि किसान र विभिन्न सङ्घसंस्थाको मागअनुरुप वितरण गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादितमध्ये अधिकांश बिरुवा पशुपालन किसानलाई लक्षित गरेका छौँ । हामीले पशुपालक किसानका लागि घाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएका हौँ ।”

बिरुवा उत्पादनका लागि प्रदेश सरकारबाट बजेट विनियोजनमा प्राथमिकता नदिइँदा गत वर्षका तुलनामा यस वर्ष कम बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>