चितवन विशेष
चितवनको सफल उद्यमी महिला सहकारीले बजारमा ल्यायो ‘चन्द्रसूर्य’ बेसार

चितवन, असार १६–
चितवनको सफल उद्यमी महिला सहकारीले ‘चन्द्रसूर्य’ नामको बेसार उत्पादन सुरु गरेको छ ।
आफ्ना सदस्यहरुको जीविकोपार्जनमा सुधार ल्याउन तथा स्थानीय आर्थिक विकासलाई सुदृढ बनाउन सहकारीले बेसार उत्पादन सुरु गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती प्रदेशकी सहकारी मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार ‘चन्द्रसूर्य’ ब्राण्डको बेसार उत्पादनको औपचारिक रुपमा शुभारम्भ गर्नु भएको थियो ।
महिला उद्यमी तथा किसानहरुको सामूहिक प्रयासमा ‘चन्द्रसूर्य’ बेसार उत्पादन सुरु भएसंगै उपभोक्तालाई उच्च गुणस्तरको बेसार उपलब्ध गराउने, स्थानीय उत्पादकहरुको आम्दानी वृद्धि गर्ने तथा बजार पहुँच विस्तार गर्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ । यस उद्योगलाई अघि बढाउन हेफर नेपालले सहयोग गरेको छ । हेफर नेपालका राष्ट्रिय निर्देशक डा.तीर्थराज रेग्मीले ‘चन्द्रसूर्य’ बेसारको शुभारम्भले महिला किसान र सहकारी सदस्यहरुको नेतृत्व, उद्यमशीलताको भावनालाई उजागर गरेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले ‘चन्द्रसूर्य’ को शुभारम्भले महिलाको नेतृत्वमा संचालित सहकारीहरुले उद्यमशीलता र मूल्य अभिवृद्धि मार्फत स्थानीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने प्रेरणादायी उदाहरण बनेको बताए । किसानहरु उत्पादन भन्दा अगाडि बढेर आफ्नै ब्राण्ड निर्माण बनाउँदा आफ्नो उत्पादनबाट बढी लाभ लिन सक्ने बताए ।
प्रदेशकी सहकारी मन्त्री पौडेलले किसान, सहकारी, विकास साझेदारी र निजी क्षेत्रको संयुक्त उत्पादन चन्द्रसूर्य एक उदाहरण बनेको बताइन् ।
चितवनमा स्थापना भएको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था महिलाको नेतृत्वमा संचालित सहकारी हो । संस्थाले आफ्ना सदस्यहरुको जीविकोपार्जनमा सुधार ल्याउन तथा स्थानीय आर्थिक विकासलाई सुद्ढ बनाउन उद्यमशीलता, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनलाई प्रवद्र्धन गर्दै आएको जनाएको छ ।


























