तनहुँ
तनहुँको व्यास नगरपालिकाका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया

दमौली (तनहुँ), असार १० –
व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ जना ज्येष्ठ नागरिकको आँखाको मङ्गलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्याक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।
शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनःस्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उहाँहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको थियो । रासस

























