समाचार
बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी वैदेशिक रोजगार विभागको सम्पर्कमा

काठमाडौ,मंसिर १०-
वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका उनीहरूले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन् ।
विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते पत्राचार गरेको थियो । पत्रमा तोकिएको अवधिभित्र उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने चेतावनी दिइएको थियो ।
तोकिएको अवधिमा उपस्थित नभएका व्यक्तिहरूको हकमा ३५ दिन पूरा भएपछि बैंक खाता रोक्काका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले निर्देशन दिएको छ । विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


























