विचार/ब्लग

विचारः समग्र आरोग्यता र सर्वकल्याणतर्फको अन्तरयात्रा

Banner

डिल्लीराज पौडेल,

काठमाडौँ, असार ३-

‘पूर्ण आफूलाई बुझ्ने यात्रा अपूर्ण आफूभित्रैबाट सुरु हुन्छ ।’ जब मानिस बाहिरी संसारको दौडधुपबाट केही क्षणका लागि फर्केर आफ्नै अन्तरात्माको ढोकामा पुग्छ, तब आत्मखोजको वास्तविक यात्रा प्रारम्भ हुन्छ । जीवनका अनगिन्ती जिम्मेवारी, उपलब्धि, सम्बन्ध, सफलता र सङ्घर्षका बीचमा एक क्षण यस्तो पनि आउँछ, जब मानिसले आफूलाई आफैँसँग प्रश्न गर्छस “म वास्तवमा को हुँ ?”

मानव सभ्यताको सम्पूर्ण इतिहास जति पुरानो छ, त्यो प्रश्न पनि त्यति नै पुरानो छ । यही प्रश्नले ऋषिहरूलाई ध्यानमा डुबायो, दार्शनिकलाई गहिरो चिन्तनमा हरायो, कविहरूलाई शब्द दियो र वैज्ञानिकलाई सत्यको निरन्तर खोजतर्फ प्रेरित ग¥यो । समय बदलियो, सभ्यताहरू बदलिए, विज्ञान र प्रविधिले अभूतपूर्व उन्नति ग¥यो तर मानव अन्तरमनमा गुञ्जिरहने यो प्रश्न आज पनि उत्तिकै जीवन्त छ किनकी बाहिरी संसारलाई बुझ्नु र जित्नु जति चुनौतीपूर्ण छ, त्यसभन्दा अझ गहिरो यात्रा आफ्नै अन्तरचेतनालाई बुझ्ने, भेट्ने र अनुभूति गर्नुमा छ ।

एक समय यस्तो पनि थियो, जब बाहिरी उपलब्धिहरूले नै जीवनको पूर्णता दिनेछन् भन्ने विश्वास स्वाभाविक लाग्दथ्यो । जिम्मेवारी, पद, प्रतिष्ठा, सफलता र सामाजिक मान्यताका विभिन्न चरणहरू पार गर्दै जाँदा एउटा प्रश्न भने भित्र कतै मौन रूपमा जीवित रहिरह्योस के यति नै जीवन हो रु बाहिरी उपलब्धिहरू बढ्दै गए, अनुभवहरू विस्तार हुँदै गए, संसारलाई बुझ्ने अवसर प्राप्त हुँदै गए तर भित्री खोज समाप्त भएन । बरु समयसँगै अनुभूति हुन थाल्यो कि मानिसले संसारलाई जति बुझ्दै जान्छ, आफूलाई बुझ्ने आवश्यकता त्यति नै गहिरिँदै जान्छ । यही अनुभूतिले अन्ततः आत्मखोजको यात्रालाई भित्री दिशातर्फ मोडिदिन्छ ।

आधुनिक युग र चेतनाको सङ्कट

आजको मानव समाज अभूतपूर्व परिवर्तनको युगमा प्रवेश गरिसकेको छ । विज्ञान, प्रविधि, सञ्चार र भौतिक विकासका क्षेत्रमा मानव सभ्यताले उल्लेखनीय प्रगति हासिल गरेको छ । सुविधा बढेका छन्, सम्पर्कका माध्यम विस्तार भएका छन्, जीवनशैली आधुनिक बनेको छ र संसार पहिलेभन्दा धेरै सानो तथा पहुँचयोग्य भएको छ । अर्कोतर्फ यही समयमा मानिसभित्रको शान्ति, सन्तुलन र आत्मीयता भने क्रमशः कमजोर हुँदै गएको अनुभव गर्न सकिन्छ । भौतिक समृद्धि बढेको छ तर मानसिक तनाव पनि बढेको छ । सूचनाको पहुँच बढेको छ, तर आत्मज्ञानको गहिराइ घटेको छ । सम्पर्क बढेका छन् तर सम्बन्धहरूको आत्मीयता कमजोर भएको छ ।

सुविधाहरू बढेका छन्, तर सन्तुष्टि घटेको छ । आज मानिससँग सूचना छ तर अन्तर्दृष्टि कम छ । ज्ञान छ, तर आत्मज्ञान कम छ । साधनहरू छन्, तर साधना कम छ । बाहिरी उपलब्धिहरू छन्, तर भित्री सन्तुलन क्रमशः दुर्लभ बन्दै गएको छ । डिजिटल युगले मानव जीवनलाई एकातिर जोडेको छ भने अर्कोतिर विचलित पनि बनाएको छ । निरन्तर सूचना प्रवाह, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र तीव्र प्रतिस्पर्धाले बाहिरी संसारसँगको सम्बन्ध विस्तार गरेको छ तर धेरै मानिस आफ्नै अन्तरचेतनासँग टाढिँदै गएका छन् ।

आज विश्व मानसिक तनाव, एक्लोपन, असहिष्णुता, हिंसा, वातावरणीय सङ्कट र मूल्यगत विचलनका चुनौतीहरूसँग जुधिरहेको छ । यी समस्याको समाधान केवल आर्थिक स्रोत, प्रविधि वा नीतिगत सुधारले मात्र सम्भव हुँदैन । यसको मूलमा मानव चेतनाको गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रूपमा जोडिएको हुन्छ । सचेत व्यक्तिबिना सचेत समाज निर्माण हुन सक्दैन । सचेत समाजबिना दिगो शान्ति सम्भव हुँदैन । त्यसैले आत्मबोधको यात्रा केबल व्यक्तिगत विषय होइनस यो सामाजिक, राष्ट्रिय र विश्वव्यापी महत्त्वको विषय पनि हो।यही कारणले आधुनिक युगको सङ्कट केवल आर्थिक, राजनीतिक वा सामाजिक सङ्कट मात्र होइनस यो चेतनाको सङ्कट पनि हो ।

ज्ञान र विज्ञानको वैभवले मानिसलाई संसार चिनायो तर आत्मज्ञानको अभावले मानिसले आफूलाई चिन्न सकेन । यही नचिनेको अस्तित्वको खोजमा मानिस जीवनभर भौँतारिरहन्छ । शरीरलाई आफू ठानिन्छ, विचारलाई आफू ठानिन्छ, भावनालाई आफू ठानिन्छ, पद र प्रतिष्ठालाई आफू ठानिन्छ । तर समयसँगै यी सबै परिवर्तन भइरहन्छन् । शरीर बदलिन्छ । विचार बदलिन्छन् । परिस्थितिहरू बदलिन्छन् । सम्बन्धहरू बदलिन्छन् । दृश्य संसार स्वभावतः अस्थिर र परिवर्तनशील छ । तर एउटा सत्य सधैँ अपरिवर्तित रहन्छस सबै अनुभवलाई अवलोकन गर्ने चेतनाको मौन उपस्थिति यही उपस्थिति आत्मबोधको यात्राको प्रवेशद्वार हो ।

समग्र आरोग्यताको आवश्यकता

आधुनिक युगले मानव जीवनलाई अभूतपूर्व सुविधा प्रदान गरेको छ । विज्ञान र प्रविधिको विकासले जीवनलाई सहज बनाएको छ, स्वास्थ्य सेवाको पहुँच बढाएको छ, ज्ञान र सूचनाको संसारलाई औँलाको स्पर्शमै ल्याइदिएको छ तर यति धेरै प्रगतिका बीचमा पनि एउटा प्रश्न झन् गम्भीर रूपमा उठ्न थालेको छस के मानिस वास्तवमै स्वस्थ, सन्तुलित र सुखी छ रु यही प्रश्नले आज विश्वभर स्वास्थ्यको परम्परागत अवधारणालाई पुनर्विचार गर्न प्रेरित गरिरहेको छ ।
स्वास्थ्य अब केबल रोगको अनुपस्थिति मात्र होइन भन्ने बुझाइ विस्तार हुँदै गएको छ । यसको स्थान समग्र आरोग्यताको अवधारणाले लिँदै गएको छ । समग्र आरोग्यता भनेको शरीर स्वस्थ हुनु मात्र होइन । यो शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र वातावरणीय सन्तुलनको एकीकृत अवस्था हो । यस्तो अवस्था जहाँ मानिस केवल बाँचिरहेको हुँदैन, बरु सचेत रूपमा जीवनलाई अनुभव गरिरहेको हुन्छ । जहाँ जीवन केवल दिनहरू बिताउने प्रक्रिया हुँदैन, बरु अर्थपूर्ण, सन्तुलित र आनन्दपूर्ण अस्तित्वको अनुभूति बन्दछ ।

शारीरिक स्वास्थ्यले जीवनलाई ऊर्जा प्रदान गर्छ । मानसिक सन्तुलनले स्पष्टता र स्थिरता दिन्छ । भावनात्मक परिपक्वताले सम्बन्धहरूलाई स्वस्थ बनाउँछ । सामाजिक सद्भावले सहअस्तित्वलाई सुदृढ बनाउँछ । आध्यात्मिक चेतनाले जीवनलाई गहिरो अर्थ र दिशा प्रदान गर्दछ । वातावरणीय सन्तुलनले सम्पूर्ण अस्तित्वसँगको सम्बन्धलाई सुरक्षित र जीवन्त बनाउँछ । यी सबै आयामहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । कुनै एकपक्ष असन्तुलित हुँदा त्यसको प्रभाव सम्पूर्ण जीवनमा देखिन थाल्दछ ।

आजको युगमा मानिससँग धन, पद, प्रतिष्ठा र सुविधा प्रशस्त हुन सक्छन् तर यदि मन अशान्त छ, सम्बन्धहरू तनावपूर्ण छन्, जीवनको उद्देश्य अस्पष्ट छ र चेतना विचलित छ भने बाहिरी उपलब्धिहरूले दीर्घकालीन सन्तुष्टि दिन सक्दैनन् । यही कारणले आरोग्यता विलासिताको विषय होइन, जीवनको आधारभूत आवश्यकता बनेको छ ।

विश्वभर मानसिक स्वास्थ्य, मानव सुख, सामाजिक सद्भाव, वातावरणीय सन्तुलन र दिगो विकासबारे बढ्दो बहसले एउटा महत्वपूर्ण सत्य उजागर गरेको छ । आर्थिक प्रगति मात्र पर्याप्त छैन । भौतिक समृद्धि मात्र विकासको पूर्ण मापदण्ड हुन सक्दैन । यदि विकासले मानिसको चेतना, करुणा, सन्तुलन र जीवनको गुणस्तरलाई उन्नत गर्न सकेन भने त्यो विकास अधुरो रहन्छ । आज विश्वले विकासको नयाँ परिभाषा खोजिरहेको छ । यस्तो विकास जसले केवल पूर्वाधार निर्माण मात्र नगरी मानव चेतनाको पनि विकास गरोस् । यस्तो समृद्धि जसले केबल उपभोग बढाउने होइन, जीवनको अर्थलाई पनि गहिरो बनाओस् । यस्तो प्रगति जसले बाहिरी सुविधा मात्र होइन, भित्री शान्तिलाई पनि पोषण गरोस् ।

यही सन्दर्भमा जीवन विज्ञानको दृष्टिकोण विशेष रूपमा सान्दर्भिक देखिन्छ । जीवन विज्ञानले आरोग्यतालाई केबल स्वास्थ्य कार्यक्रम, उपचार पद्धति वा जीवनशैली सुधारको विषयका रूपमा मात्र हेर्दैन । यसले आरोग्यतालाई आत्मबोध, चेतना जागरण र समग्र कल्याणसँग जोडिएको जीवनदर्शनका रूपमा प्रस्तुत गर्दछ । सारगत रूपमा, आरोग्यता कुनै अन्तिम उपलब्धि होइनस बरु यो निरन्तर विकसित हुने जीवन प्रक्रिया हो । यो आफूलाई बुझ्ने, आफ्ना विचार र भावनालाई परिष्कृत गर्ने, शरीर र मनलाई सन्तुलित बनाउने तथा चेतनालाई जागृत गर्ने निरन्तर साधना हो ।

यस यात्रामा मानिस बाहिरी सफलतासँगै भित्री शान्ति, आत्मीयता र अस्तित्वगत पूर्णताको अनुभूतितर्फ अग्रसर हुन्छ । यही बिन्दुबाट जीवन विज्ञानको वास्तविक यात्रा सुरु हुन्छ । बाहिरी संसारलाई परिवर्तन गर्ने प्रयासभन्दा पहिले आफूलाई बुझ्ने र रूपान्तरण गर्ने यात्रा । समग्र कल्याणको आधार बाहिर होइन, अन्ततः मानिसको आफ्नै चेतनाभित्र स्थापित हुन्छ ।

दुःख मोक्ष, आनन्द प्राप्ति र समग्र कल्याण

जीवन विज्ञानले मानव जीवनको मूल उद्देश्यलाई अत्यन्त सरल तर गहिरो रूपमा व्यक्त गर्दछ दुःख मोक्ष र आनन्द प्राप्ति । मानव जीवनका अधिकांश प्रयत्नहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यही दुई आकाङ्क्षाका वरिपरि केन्द्रित हुन्छन् । मानिस दुःखबाट मुक्त हुन चाहन्छ र आनन्दको अनुभव गर्न चाहन्छ तर प्रायः दुःखका कारण बाहिर खोजिन्छ र आनन्दको स्रोत पनि बाहिरै खोजिन्छ ।

जीवन विज्ञानले दुःखको मूल कारण बाहिरी संसार होइन, आफ्नै वास्तविक स्वरूपबाट टाढा हुनु हो भन्ने सिकाउँछ । जब मानिस शरीर, विचार, भावना वा बाहिरी पहिचानलाई मात्र आफ्नो सम्पूर्ण अस्तित्व ठान्दछ, तब परिवर्तनशील कुरासँगको आसक्तिले दुःख जन्माउँछ । परिवर्तनलाई स्थायी बनाउन खोज्दा निराशा उत्पन्न हुन्छ र अस्थिरलाई स्थिर बनाउन खोज्दा पीडा उत्पन्न हुन्छ । यसले मानिसलाई अन्तहीन खोज र असन्तुष्टिको चक्रमा राखिरहन्छ तर जब चेतनासँग पुनःसम्बन्ध स्थापित हुन थाल्छ, जीवनप्रतिको दृष्टि परिवर्तन हुन्छ । दुःख शत्रुजस्तो लाग्दैनस बरु आत्मबोधतर्फ डो¥याउने शिक्षकजस्तो अनुभूत हुन्छ । चुनौती दण्ड होइनन चेतनाको परिपक्वताका अवसरजस्ता देखिन थाल्छन् । पीडाले पनि जीवनको गहिरो अर्थ बुझाउने माध्यमको रूप लिन्छ ।

जब मन वर्तमान क्षणमा स्थिर हुन थाल्दछ, श्वासमा सजगता आउँछ र चेतना क्रमशः जागृत हुँदै जान्छ, तब आनन्द कुनै बाह्य उपलब्धिको परिणामका रूपमा होइन, आफ्नै स्वाभाविक स्वरूपका रूपमा प्रकट हुन पुग्दछ । यस्तो आनन्द परिस्थिति, उपलब्धि, प्रशंसा वा भौतिक सफलतामा निर्भर हुँदैन । यो त भित्री सन्तुलन, सजग चेतना, आत्मीय सम्बन्ध र सच्ची भावबाट सहज रूपमा प्रवाहित हुने गहिरो अनुभूति हो, जसले व्यक्तिलाई शान्ति, सन्तुष्टि र समग्र कल्याणको दिशातर्फउन्मुख गराउँछ । यही अनुभूतिबाट समग्र कल्याणको यात्रा सुरु हुन्छ । समग्र कल्याण केबल व्यक्तिगत सुख वा मानसिक शान्ति मात्र होइन यो शरीर, मन, भावना, सम्बन्ध, समाज, प्रकृति र चेतनाबीचको सन्तुलित सामञ्जस्यको अवस्था हो । जहाँ व्यक्ति स्वयंभित्र शान्त हुन्छ, सम्बन्धमा करुणा विकसित हुन्छ, समाजप्रति उत्तरदायित्व प्रकट हुन्छ र सम्पूर्ण अस्तित्वप्रति सम्मानको भावना जागृत हुन्छ ।

जब शरीर योगद्वारा सन्तुलित हुन्छ, श्वास प्राणायामद्वारा परिष्कृत हुन्छ, मन ध्यानद्वारा शान्त हुन्छ र चेतना आत्मजागरणतर्फ उन्मुख हुन्छ । जीवन क्रमशः आफ्नो मौलिक स्वरूपतर्फ फर्कन्छ । अभ्यास केबल विधि मात्र रहँदैनन् । ती जीवन जिउने शैलीका रूपमा स्थापित हुन्छन् । सजगता ध्यानको समयमा मात्र सीमित रहँदैन । यो दैनिक व्यवहार, सम्बन्ध, निर्णय र जीवन दृष्टिमासमेत अभिव्यक्त हुन्छ । सच्चा भावसहितको यस्तो जीवनदृष्टिले व्यक्तिलाई भित्री सन्तुलनतर्फ उन्मुख गराउँछ । यसबाट शान्ति, आनन्द र समग्र कल्याणको अनुभूति विकसित हुन्छ । त्यसपछि विस्तारै अनुभूति हुन थाल्छ कि बाहिर खोजिएको शान्ति आफ्नै अन्तरमनभित्र थियो । खोजिएको प्रेम आफ्नै चेतनाको स्वाभाविक गुण थियो । खोजिएको आनन्द आफ्नै अस्तित्वको मौलिक स्वरूप थियो। र खोजिएको पूर्णता पनि सधैँदेखि आफ्नै अन्तरदीपभित्र निहित थियो । यही अनुभूतिले दुःख मोक्षलाई सम्भव बनाउँछ, आनन्दलाई स्वाभाविक बनाउँछ र समग्र कल्याणलाई जीवनको जीवित यथार्थमा रूपान्तरण गर्छ ।
(लेखक मलेसियाका लागि नेपाली पूर्वराजदूत हुनुहुन्छ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>