राजनीति

सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

Banner

काठमाडौं, असार १-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर्षदेखि अल्झिएको विषय हो । गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको छ ।’

उनले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै घटनाको वास्तविकता के हो भन्ने विषयमा सरकारको धारणा माग गरिन् । साथै, सरकारले यसबारे हालसम्म के–कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा संसदलाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याइन् ।

उनले भनिन्, ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो ?सरकारले यसबारे के–कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी लिन आवश्यक छ। ’

तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको बताइन् । उनले सीमा समस्या ती क्षेत्रहरूमा मात्र सीमित नरहेको उल्लेख गर्दै अन्य सीमा क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौती विद्यमान रहेको धारणा राखिन् ।

उनले भनिन्, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएका संवेदनशील विषय हुन्। यस्ता समस्या केवल ती क्षेत्रहरूमा मात्र सीमित छैनन्। अन्य सीमा क्षेत्रहरूमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान छन्। कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता गर्नु हो। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।’

उनले कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको बताउँदै राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिइन् ।

सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरिन् । आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विषयमा समेत विचार गर्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलसहित अघि बढोस् भन्ने आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने व्यवस्था पनि गरियोस्,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>