फोटो फिचर
हिमालको स्वाद संकटमाः क्यान्जिनको याक चिज जोगाउन संघर्ष

क्यान्जिन, (रसुवा), जेठ ३० –
लाङटाङ हिमशृंखलाको फेदीमा अवस्थित क्यान्जिन गोम्पा डीडीसी चिज कारखाना केवल दुग्ध उद्योग मात्र होइन, हिमाली जीवन, स्थानीय अर्थतन्त्र र नेपालको मौलिक स्वादको जीवित इतिहास हो। समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको यो कारखाना आज पनि याक तथा चौँरीको दूधबाट उत्पादन हुने चिजका कारण देश विदेशमा परिचित छ। तर पछिल्ला वर्षहरूमा कृषक पलायन, चरन क्षेत्रको अभाव र जलवायु परिवर्तनका कारण यसको उत्पादनमा उल्लेख्य गिरावट आएको छ।
सन् १९५० को दशकमा स्विस प्राविधिक सहयोगबाट सुरु भएको क्यान्जिन चिज उत्पादन केन्द्र नेपालमा व्यावसायिक याक चिज उत्पादनको प्रारम्भिक केन्द्रमध्ये एक मानिन्छ। दशकौँदेखि यसले स्थानीय पशुपालकको आम्दानीको स्रोत बन्नुका साथै लाङटाङ पुग्ने हजारौँ पर्यटकलाई हिमाली स्वादको अनुभव दिलाउँदै आएको छ।
क्यान्जिन चिज कारखानाका चिज मेकर ग्याल्बो तामाङका अनुसार अहिले उत्पादनमा ठूलो चुनौती थपिएको छ। “पहिला दैनिक ५०० लिटरसम्म दूध संकलन हुन्थ्यो, अहिले मुस्किलले ६०–७० लिटर मात्रै आउँछ,” तामाङले भने, “कृषकहरू पलायन भइरहेका छन्, चरन क्षेत्र घट्दै गएको छ र जलवायु परिवर्तनका कारण चौँरी चराउने परम्परागत क्षेत्रहरूमा समेत परिवर्तन आएको छ।”
उनका अनुसार चौँरीपालक किसानहरू अझै पनि चौँरी चराउन ५ हजार मिटरभन्दा माथिको उचाइसम्म पुग्ने गर्छन्। तर मौसमको अनिश्चितता र चरन क्षेत्रको खुम्चिँदो अवस्थाले दूध उत्पादनमा प्रत्यक्ष असर परेको छ। क्यान्जिन कारखानामा संकलन गरिएको दूध तत्काल चिजमा परिणत हुँदैन। चिज बन्ने प्रक्रिया नै समयसाध्य छ। तामाङका अनुसार दूध ल्याइएको दिनदेखि उपभोगयोग्य चिज बन्न कम्तीमा तीन महिना लाग्छ।
“दूध ल्याएर प्रशोधन गरेपछि चिज तयार हुन तीन महिना कुर्नुपर्छ। तीन महिनापछि खान योग्य हुन्छ, तर जति धेरै वर्ष राख्यो त्यति नै यसको स्वाद र गुणस्तर अझ राम्रो हुँदै जान्छ,” उनले बताए।
कारखानामा कार्यरत सेल्सम्यान दिपक श्रेष्ठका अनुसार क्यान्जिन पुग्ने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले याक चिजको स्वाद लिनुका साथै सम्झनाका रूपमा घर लैजान रुचाउने गरेका छन्।
“पर्यटकहरू चिजको स्वाद मात्र होइन, यसको इतिहास र उत्पादन प्रक्रिया बुझ्न पनि उत्सुक हुन्छन्,” श्रेष्ठले भने, “हिमालको काखमा बनेको यो चिज उनीहरूका लागि विशेष अनुभव बन्छ।”
हालै देशका प्रधानमन्त्री बालेन्द्र शाहले शाहलसामाजिक सञ्जालमा याक चिज खाइरहेको तस्वीर सार्वजनिक गरेपछि यो उत्पादन पुन राष्ट्रिय चर्चामा आएको थियो। त्यसपछि बजारमा याक चिजको माग उल्लेख्य रूपमा बढेको डीडीसी स्रोतले जनाएको छ। रसुवा जिल्लामा हाल क्यान्जिन, धुन्चे, चन्दनबारी, गत्लाङ र तातोपानी गरी पाँच स्थानमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन हुँदै आएको छ। तीमध्ये क्यान्जिन गोम्पाको केन्द्रलाई विश्वकै उच्च स्थानमा सञ्चालित चिज कारखानामध्ये एक मानिन्छ।
स्थानीयवासीका लागि यो उद्योग केवल उत्पादन केन्द्र मात्र होइन, जीवनयापनको आधार पनि हो। याक तथा चौँरी पालन, दूध संकलन, चिज उत्पादन र पर्यटनसँग जोडिएको यो उद्योगले लाङटाङ क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाइरहेको छ। तर उत्पादन घट्दै जानु र पशुपालकको संख्या कम हुँदै जानुले यस उद्योगको भविष्यप्रति चिन्ता बढाएको छ। हिमालको काखमा जन्मिएको यो मौलिक स्वाद जोगाउन स्थानीय तह, सम्बन्धित निकाय र राज्यको विशेष ध्यान आवश्यक देखिन्छ।
आज क्यान्जिनको याक चिज केवल खाद्य परिकार होइन, हिमाली संस्कृति, स्थानीय मेहनत र नेपालको पहिचान बोकेको उत्पादन हो। तर यसलाई जोगाउने चुनौती पनि उत्तिकै ठूलो बन्दै गएको छ। यदि वर्तमान समस्या समाधान हुन सकेन भने, हिमालको यही स्वाद इतिहासका पानामा सीमित हुने खतरा बढ्दै जाने स्थानीयहरूको चिन्ता छ।
तस्बिरहरु: मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी






































