देश/प्रदेश
खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित
सिरहा, जेठ २९ –
सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ ।
किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बतउनुभयो । “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उहाँले भन्नुभयो ।
किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताउनुभयो । उहाँले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुनःस्थापना गर्न माग गर्नुभयो ।
सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै भन्नुभयो, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।” उहाँका अनुसार नवराजपुर र बरियारपट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन् । रासस
























