राजनीति
रास्वपा कञ्चनपुरमा विष्ट निर्वाचित

महेन्द्रनगर, जेठ २५ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित हुनुभएको छ ।
आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित हुनभएको छ ।
त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो । सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो । जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए ।
सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो । सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।
चितवनमा खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
राति अबेर सम्पन्न मत गणना अनुसार खनाल दुई सय २२ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले एक सय ११ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभएको थियो । भुसाल निवर्तमान जिल्ला सभापति हुनुहुन्छ ।
यसैगरी, उपसभापति पदमा निर्मला गिरी एक सय ९० मतसहित निर्वाचित हुनुभयो भने प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल एक सय ९४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेत्र लामिछानेले एक सय ४५ मत प्राप्त गर्नुभयो । सहसचिवमा कुशल पाठक एक सय ८७ मतका साथ विजयी हुनुभयो भने प्रतिस्पर्धी पार्वती पाण्डेले ६९ मत प्राप्त गर्नुभएको थियो ।रासस
























