कृषि

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

Banner

भोजपुर, जेठ २३-

भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित हुनुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका अधिकारीले विगत पाँच वर्षदेखि फलफूलखेतीलाई मुख्य व्यवसायका रूपमा अँगाल्दै आउनुभएको हो ।

अधिकारीले अहिले २५ रोपनी क्षेत्रमा विभिन्न फलफूलका बिरुवा विस्तार गर्नुभएको छ भने बाँकी रहेको करिब सात रोपनी जमिनमा क्रमशः खेती विस्तार गर्ने योजना बनाउनुभएको छ । विदेशमा लिएको सीप, अनुभव र पुँजीलाई आफ्नै गाउँमा प्रयोग गर्दै कृषि पेसालाई दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनाउने लक्ष्य लिएको उहाँले बताउनभयो ।

अधिकारीले लिची, आँप, अनार, कागती, एभोकाडो ९घिउ फल०, रुद्राक्षजस्ता बहुवर्षीय फलफूलका साथै मौसमी तरकारीखेती गर्दै आउनुभएको छ । केही बिरुवाले उत्पादन दिन थालिसकेका जनाउँदै उहाँले आगामी वर्षमा सबै बिरुवाबाट आम्दानी लिन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“अहिले केही बिरुवाबाट मात्रै आम्दानी सुरु भएको छ”, अधिकारीले भन्नुभयो, “सबै बिरुवा उत्पादनमा आएपछि वार्षिक रु पाँचदेखि रु १० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छु ।” विदेशी भूमिमा वर्षौंसम्म श्रम बेच्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने सोचले आफू कृषिमा लागेको उहाँले बताउनुभयो । “विदेशमा दुःख धेरै भयो । अब आफ्नै ठाउँमै केही गरेर देखाउने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

अधिकारीले करिब २६ वर्ष अरूको जमिनमा बस्दै आउनुभएको थियो । अहिले आफ्नै जमिनमा व्यावसायिक खेती विस्तार गर्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ । उहाँको प्रयासले स्थानीयस्तरमा कृषि पेसाप्रति आकर्षण बढ्दै गएको छ ।

कृषि विस्तारसँगै उहाँले बाख्रापालन गर्दै आउनुभएको छ । बाख्राबाट उत्पादन हुने गोठेमाल (जैविक मल) प्रयोग गरी बोटबिरुवाको व्यवस्थापन गर्ने गरिएको अधिकारीले बताउनुभयो । यसले उत्पादन लागत घटाउनुका साथै माटोको उर्वराशक्ति कायम राख्न सहयोग पुगेको उहाँको अनुभव छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको भन्दै अधिकारीले भविष्यमा खेतीलाई अझै विस्तार गर्ने योजना बनाउनुभयो । आधुनिक प्रविधि, बजार व्यवस्थापन तथा प्राविधिक सेवामा राज्यले सहज पहुँच उपलब्ध गराए कृषिबाट अझ राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । “यदि प्राविधिक सेवा र बजार व्यवस्थापनमा सहयोग पाइयो भने कृषिमा लागेका किसानलाई धेरै सहज हुन्छ”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>