राजनीति
सीमा विवादको ‘ढोल नबजाई’ भारतबाट फर्के रवि

काठमाडौं, जेठ २२-
पाँचदिने भारत भ्रमण सम्पन्न गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्केका छन् । देशमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका बेला सभापति लामिछानेकै शब्दमा उनी नयाँ दिल्लीमा ‘ढोल नबजाई’ फर्के ।
विगतमा टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दा ‘ग्रेटर नेपाल’को नक्सा भित्तामा टाँसेर आक्रोश पोखेका उनले यसपटक आफ्नो भारत भ्रमणमा संयमता अपनाएको संकेत गरे ।
“कुनै पनि विषय कूटनीतिक माध्यमबाट, कूटनीतिक च्यानलहरूलाई एक्टिभ गरेर गराइनुपर्ने कुराहरू हुन्छन् । तीनको आवाज एकदम हल्ला गरेजस्तो ढोल बजाएर हुँदैनन् । तर, ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा गर्नुपर्ने, समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ,” सीमा विवादका विषयमा के कुराकानी भयो भन्ने प्रश्नको जवाफ दिँदै त्रिभवुन अन्तर्राष्ट्रिय विमानथलमा सभापति लामिछानेले पत्रकारहरूसँग भने ।
एक्टिभिस्टले उठाउने विषय, पत्रकारले उठाउने विषय तथा एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलको रूपमा त्यसले उठाउने विषय र जिम्मेवारी फरक फरक हुने उनले स्पष्ट पारे ।
“फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यतिधेरै महत्त्व हुँदैन । लोकप्रियताको लागि त एकदम सजिलो हुन्छ । तर, समस्या समाधान गर्नको निम्ति चरणहरू हुन्छन् । कुनै पनि काम गर्न चरणहरू हुन्छन्,” सभापति लामिछानेको भनाइ थियो ।
आफ्नो पाँचदिने भारत भ्रमणमा खेलकुददेखि सूचना प्रविधि (आइटी)सम्मको फराकिलो ‘फ्रेमवर्क’मा कुराकानी गरेको दाबी उनले गरे । सहकार्यले सम्बन्ध अघि बढ्ने र विगतमा भएका कमजोरीको भारी बोक्नु नपर्ने स्पष्ट सन्देश आफूले भारतीय नेताहरूसँगको भेटघाटमा दिएको उनले जनाए । “नेपाल र भारतको सम्बन्ध गहिरो त्यतिबेला हुन्छ जब समृद्धिको बाटोमा हामी पनि सँगसँगै हिँड्छौँ । खेलकुददेखि आइटीसम्मको फराकिलो तस्बिरको कुराकानी गरेको छु । सहकार्यले सम्बन्ध अघि बढ्न सक्छ । विगतमा भएका कमजोरीको भारी बोक्नु पर्दैन । समृद्धिको यात्रामा विकास कूटनीतिमार्फत अघि बढ्न तयार छौँ, आपसी हित र सम्मानका साथ अघि बढ्न चाहन्छौँ भन्ने सन्देश दिएको छु,” सभापति लामिछानेले भने ।
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सदनमा ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्ति सरकार र रास्वपाको आधिकारिक धारणा नभएको उनले स्पष्ट पारे । सभापति लामिछानेले थप स्पष्ट पार्दै अगाडि भने, “परराष्ट्र मामिलासम्बन्धी विषय, कुनै देशसँगको विषय त्यो पार्टीपिच्छेको हुँदैन । देशको हुन्छ । प्रधानमन्त्रीले आफूले बोलेको कुरा के हो, कसो भनेर परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ विज्ञप्ति जारी गरेर । त्यो नै सरकारको आधिकारिक धारणा हो । परराष्ट्रले आधिकारिक रूपमा हाम्रो भनाइ यो हो भनेपछि थप आधिकारिता खोज्न जरुरी छैन ।”






















