चितवन विशेष
भरतपुर–१० वडाको नयाँ सुरुवात, वातावरणमा योगदान दिने दुई टोल विकास संस्था सम्मानित

चितवन, जेठ २२–
भरतपुर महानगरपालिका वडा नं.१० ले वातावरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने दुई टोल विकास संस्थालाई सम्मान गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर वडा कार्यालयले हिमाली टोल विकास संस्था र दोभान कालिका नमुना टोल विकास संस्थालाई सम्मान गरेको हो ।
कार्यवाहक वडा अध्यक्ष रेशम राज थापा (ऋषि)ले वातावरणको क्षेत्रमा राम्रो काम गर्ने टोल विकास संस्थालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको बताउनुभयो । ‘यसपटकबाट वडाले यो सम्मानको सुरुवात गरेको छ, यसले आगामि दिनमा अन्य टोल विकास संस्थाहरुलाई पनि वातावरणको पक्षमा राम्रो काम गर्न प्रोत्साहन मिल्नेमा विश्वास छ’–कार्यवाहक वडा अध्यक्ष थापाले भन्नुभयो ।
कार्यक्रममा हिमाली टोल विकास संस्थाका अध्यक्ष प्रजिल श्रेष्ठ र दोभान कालिका नमुना टोल विकास संस्थाका अध्यक्ष दिवाकर ढकाललाई कार्यवाहक वडा अध्यक्ष थापाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा वडा सदस्य सूर्य बदना हमाल, वडा सचिव माधव सुवेदी, प्रवीण खतिवडा, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तै वडाले वातावरण दिवसकै अवसर पारेर गेष्ट हाउस चौर क्षेत्रमा सरसफाईसंगै वृक्षरोपण समेत गरेको छ ।






















