देश/प्रदेश
‘विद्यालयमा संसद् अभ्यास’

रामचन्द्र रायमाझी,
तानसेन (पाल्पा), जेठ २१-
एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् । सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गर्नुहुन्छ । त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराउँछन् । सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्छ ।
संसद्मा बाँदरका कारण बसाईसराई बढेकोदेखि सिँचाइ अभाव हुँदै सडक, पुल नहुँदा ग्रामीण क्षेत्रका नागरिकले पाएका सास्तीका विषयले प्राथमिकता पाउँछ । सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे । यसलाई हेर्दा लाग्थ्यो साँच्चीकै संसद् चलिरहेको छ । तर, यो दृश्य तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरुले सञ्चालन गरेको नमुना युवा संसद् कार्यक्रमअन्तर्गतको संसदीय अभ्यास हो ।
सामाजिक सञ्जाल, मोवाइल, इन्टरनेटको माध्यमबाट संसद्को गतिविधि हेर्दै आएका यहाँका विद्यार्थीले नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरी संसदीय अभ्यास गरेका हुन् । विद्यालयको आयोजना र टोनी हेगन फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा भएको नमुना युवा संसद् अभ्यास कार्यक्रमले बालबालिकाको क्षमता विकासमा सहयोग पुगेको छ ।
नमूना संसदीय अभ्यासमा विद्यालयका कक्षा ६ देखि ११ कक्षासम्म अध्ययन गर्ने बालबालिकाले सङ्घीय संसद्मा हुने सबै किसिमका नियम, प्रक्रिया पालना गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । विद्यार्थीहरुले सभामुख, उप–सभामुख, संसद् सचिवालयका कर्मचारी, प्रधानमन्त्री, मन्त्री, संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, सत्तापक्ष सांसद, प्रतिपक्ष सांसद, मर्यादापालक, दर्शक र पत्रकारको भूमिका निर्वाह गरे ।
सभामुखको भूमिकामा रहनुभएकी स्वस्तिका पाण्डे संसद् भवनमा प्रवेश गर्ने बित्तिकै राष्ट्रिय गान बज्यो । संसद् भवनमा राष्ट्रिय गानपछि सभामुखको भूमिकामा रहनुभएकी ।पाण्डेले शून्य समय शुरु गर्नुभयो । शून्य समयमा सांसदको भूमिकामा बालबालिकाहरुले सार्वजनिक महत्वका विषयमा एक/एक मिनेट आ–आफ्ना धारणा राख्दै सरकारको ध्यानार्कषण गराए । संसद्मा उठेका विषयवस्तु तत्काल कार्यान्वयन गरी जनतालाई राहत दिन युवा सांसदहरुले माग गरे ।
सभामुख बन्नुभएकी पाण्डेले शून्य समयमा उठेका प्रश्नहरुको जवाफ दिन सम्बन्धित मन्त्री नभएको बताउँदै शून्य समय सकिएको घोषणा गर्नुभयो । सभाहलमा भएको यस्ता गतिविधिले बालबालिकादेखि शिक्षक शिक्षिकाहरुलाई संसद भवनभित्रै रहेको महसुस गराएको थियो । नमुना युवा संसद्मा बालबालिकाले सङ्कल्प प्रस्ताव पेस गरे । संसदमा सत्ता पक्षका सांसदले शिक्षामा सबै नागरिकहरुको समान पहँुच र अवसर सुनिश्चत गर्न शिक्षा नीति र कानुन संशोधन गर्ने विषयमा सङ्कल्प प्रस्ताव पेस गरेका थिए ।
शिक्षासम्बन्धी सङ्कल्प प्रस्तावमा बालबालिकाहरुले सक्षापक्ष र प्रतिपक्षी सांसदको रुपमा पक्ष र विपक्षमा कुराहरु राखे । सत्तापक्ष र प्रतिपक्ष संसद्ले राखेका प्रश्न तथा जिज्ञासाको शिक्षा मन्त्रीले जवाफ दिनुभयो । शिक्षा मन्त्रीले शिक्षामा समान अवसर र पहुँचको लागि सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने आवश्यताका रहेको बताउँदै सभामुखलाई टेबल गर्न अनुरोध गर्नुभयो । नमूना संसद्मा सभामुखले शिक्षा नीतिको सङ्कल्प प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो । सङ्कल्प प्रस्तावको पक्षमा बहुमत भएपछि सभामुखले सङ्कल्प प्रस्ताव पारित भएको घोषणा गर्दै अर्को सूचना नभएसम्मका लागि संसद्को बैठक स्थगित भएको घोषणा गर्नुभयो र नमूना युवा संसद्को एकदिने कार्यक्रम सकियो ।
यस्तै अभ्यास तानसेन नगरपालिका–९ स्थित दमकडा नमूना माध्यमिक विद्यालयका विद्यार्थीले पनि गरे । दमकडा मावि र टोनी हेगन फाउन्डेसनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको थियो । विद्यार्थीलाई संसद्को बैठक प्रक्रियाबारे जानकारी दिन, उनीहरूको तर्क गर्ने क्षमताको विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।
ससंदीय अभ्यास, संसद् सञ्चालन गर्ने नीति नियम, प्रक्रिया विधिको बारेमा प्रत्यक्षरुपमा आफैँ अभ्यास गर्न पाउनुको साथै, शून्य समयदेखि विधेयक प्रस्तुति, संसद्ले कुरा राख्ने तरिका, विधेयक माथिको बहसको बारेमा जान्ने अवसर पाएको देववाणी स्कुलका छात्र संयोग बस्यालले बताउनुभयो । भोलिको दिनमा राजनीतिशास्त्र पढेर राजनीति गरेमा पनि नमूना युवा संसद् कार्यक्रमले नयाँ बाटो सिकाएको उहाँले बताउनुभयो ।
तोकिएको जिम्मेवारी तथा पदिय दायित्व निर्वाह गर्दा निकै संयमित, अध्ययनशील, नियम कानुनदेखि संविधानसम्मका कुराहरुलाई ध्यान दिएर काम गर्नुपर्ने रहेछ भन्ने नयाँ सिकाइ भएको नमूना युवा संसद्मा सभामुखको भुमिकामा रहनुभएकी छात्रा स्वस्तिका पाण्डेले बताउनुभयो । विद्यालयले किताबी ज्ञानलाई समय–समयमा विद्यार्थी तथा बालबालिकाहरुलाई व्यवहारिक अभ्यास गराउँदै आएको छ । विद्यार्थीहरुलाई स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न विषयबस्तुमा व्यावहारिक अभ्यास गराउँदै आइएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले टिभी, मोवाइलमा हेर्दै पाठ्यपुस्तकमा पढ्दै आएको संसदीय अभ्यासलाई नियम कानुन र संविधान अध्ययनसहित संसद्मा हुने गतिविधिहरुलाई नमूना युवा संसद् कार्यक्रममार्फत अभ्यास गराइएको हो ।
विद्यालयले अन्य समयमा पनि बालबालिकालाई किताबी ज्ञान मात्र नभई विषयवस्तुमा आधारित रहेर व्यावहारिक अभ्यास गराउँदै आएको र सो अभ्यासले बालबालिकालाई राम्रो अवसर प्रदान गरेको कार्यक्रम अवलोकनकर्ता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उमादेवी अर्यालले बताउनुभयो ।
बालबालिकाको चौतर्फी क्षमता विकास गर्न, किताबी ज्ञानलाई व्यवहारिक ज्ञानमा परिणत गर्न, साथै वर्तमान अवस्थामा नेपालको शिक्षाको अवस्थाबारे बालबालिकालाई जानकारी गराउन विद्यालयमा नमूना युवा संसद् कार्यक्रममा बालबालिकालाई सहभागी गराइएको टोनी हेगन फाउण्डेसन नेपालका सचिव एव पूर्वसंसद् फटिक थापाले बताउनुभयो ।
जिल्लाका अन्य विद्यालयहरुमा पनि यस्तो अभ्यास सञ्चालन भइरहेका छन् । आजका युवा नै भविष्यमा देश, प्रदेश र स्थानीय तहको नेतृत्व गर्ने छन् उनीहरूलाई अहिलेदेखि नै संसदीय अभ्यासबारे ज्ञान दिन सकियो भने भोलि दक्ष जनप्रतिनिधि उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ विद्यालयहरुले यस्तो अभ्यास चलाएका हुन् ।
नेतृत्व र लोकतन्त्र सिकाउने माध्यम
विद्यालय केवल पाठ्यपुस्तक पढ्ने ठाउँ मात्र होइन, जीवन उपयोगी सीप सिक्ने थलो पनि हो । विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । यस्तै प्रभावकारी र शिक्षाप्रद गतिविधिमध्ये संसद् अभ्यास अत्यन्त महत्वपूर्ण मानिन्छ । संसद् अभ्यासले विद्यार्थीलाई लोकतन्त्र, नेतृत्व, अनुशासन, तर्क प्रस्तुत गर्ने कला तथा सहकार्यको भावना विकास गर्न मद्दत गर्दछ ।
संसद् अभ्यास भनेको विद्यालयमा वास्तविक संसद्को जस्तै वातावरण सिर्जना गरी विद्यार्थीलाई सभामुख, प्रधानमन्त्री, मन्त्री, प्रतिपक्ष तथा सांसदको भूमिका निर्वाह गराउने अभ्यास हो । यसमा विद्यार्थीहरूले विभिन्न समसामयिक विषयमा छलफल गर्छन्, प्रश्न सोध्छन्, तर्क प्रस्तुत गर्छन् र निर्णय प्रक्रियामा सहभागी हुन्छन् । यसले उनीहरूलाई लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव दिलाउँछ ।
विद्यालयमा संसद् अभ्यास सञ्चालन गर्दा विद्यार्थीहरूमा बोल्ने आत्मविश्वास बढ्छ । धेरै विद्यार्थी सार्वजनिक रूपमा आफ्ना विचार राख्न हिच्किचाउँछन्, तर यस्तो अभ्यासले उनीहरूलाई खुलेर बोल्न प्रेरित गर्छ । साथै, आफ्ना विचारलाई तर्कसङ्गत ढङ्गले प्रस्तुत गर्ने क्षमता पनि विकास हुन्छ । विद्यार्थीहरूले अरूको विचार सुन्ने, सम्मान गर्ने र सहमत–असहमत जनाउने सभ्य शैली सिक्छन् । यस अभ्यासको अर्को महत्वपूर्ण पक्ष नेतृत्व विकास हो । जब विद्यार्थीहरूले मन्त्री, सभामुख वा सांसदको भूमिका निर्वाह गर्छन्, उनीहरूमा जिम्मेवारीबोध बढ्छ । समूहलाई नेतृत्व गर्ने, निर्णय लिनसक्ने तथा समस्या समाधान गर्ने क्षमता विकास हुन्छ । भविष्यमा सक्षम नागरिक र असल नेतृत्व तयार पार्न यस्ता गतिविधिले ठूलो योगदान पु¥याउँछन् ।
संसद् अभ्यासले विद्यार्थीलाई देशको शासन व्यवस्था र लोकतान्त्रिक मूल्यबारे पनि जानकारी दिन्छ । संविधान, संसद्, कानुन निर्माण प्रक्रिया तथा नागरिक अधिकार र कर्तव्यबारे व्यावहारिक ज्ञान प्राप्त हुन्छ । यसले विद्यार्थीलाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्दछ । संसद् अभ्यास प्रभावकारी बनाउन विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थी सबैको सक्रिय सहभागिता आवश्यक हुन्छ । विषय छनोट, अनुशासन तथा समय व्यवस्थापनमा ध्यान दिनुपर्छ । साथै, सबै विद्यार्थीलाई सहभागी हुने अवसर प्रदान गरिनु आवश्यक छ । विद्यालयमा संसद् अभ्यास गर्नु केवल मनोरञ्जनात्मक कार्यक्रम होइन, यो विद्यार्थीको व्यक्तित्व विकास गर्ने महत्वपूर्ण शैक्षिक प्रक्रिया हो । यसले विद्यार्थीलाई लोकतन्त्रको मर्म बुझ्न, नेतृत्व क्षमता विकास गर्न र जिम्मेवार नागरिक बन्न सहयोग पु¥याउँछ । त्यसैले प्रत्येक विद्यालयले यस्ता रचनात्मक गतिविधिलाई प्राथमिकता दिनु आवश्यक छ । रासस
























