चितवन विशेष
चितवनमा तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, जेठ १८-
चितवनको राप्ती नगरपालिकामा तेल ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–२ गढ्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति करिब ८ः१५ बजे लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ६ ख ७६०४ नम्बरको लोड तेल ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा राप्ती नगरपालिका–२ गढ्यौली निवासी अन्दाजी ६० वर्षीय शंकर बहादुर प्रजा गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते प्रजालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा राति ८ः४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न तेल ट्याङ्कर र चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ निवासी ३८ वर्षीय रबिन लामालाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


























