देश/प्रदेश
उन्नत जातका माहुरीपालनबाट मनग्य आम्दानी गर्दै केसी

दाङ, जेठ ११-
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
विगत दुई दशकदेखि सो पेसा अँगालेका उहाँ अहिले सफल माहुरी उद्यमीका रुपमा परिचित हुनुहुन्छ । केसीले तीनजनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गर्नुभएको छ ।
कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित हुनुभएपछि सुरुमा उहाँले २५ घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको थियो ।
केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उहाँले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आउनुभएको छ ।
केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्नुहुन्छ । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ । रासस
























