राजनीति
प्रधानमन्त्रीको व्यवाहार अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादितः कांग्रेस कर्णाली

कर्णाली, वैशाख ०३-
नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित ठहर गर्दै खेद प्रकट गरेको छ।
कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी समापन गर्दै कांग्रेसले बृहत्तर एकता र भावी कार्यदिशा समेटिएको १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सरकारको नीति तथा कार्यक्रम वाचनका क्रममा प्रधानमन्त्री शाहले देखाएको आचरणले संघीय संसद् र राष्ट्रपतिको उपहास गरेको निष्कर्ष निकालेको छ। ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले देखाउनुभएको व्यवहारले जननिर्वाचित संसद्को अपमान भएको छ,’ सार्वजनिक १० बुँदे सुत्रमा भनिएको छ।
भेलाले पार्टीको आगामी १५ औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्न नेतृत्वलाई आह्वान गरेको छ। पार्टी सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै भेलाले शीर्ष नेता र पदाधिकारीहरूसँग सघन संवाद गरी निष्पक्ष र विश्वसनीय वातावरणमा समयमै महाधिवेशन सुनिश्चित गर्न माग गरेको छ।
‘१५ औं महाधिवेशनमा नवीकरण गरेका र नयाँ क्रियाशील सदस्यहरू सबैले सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्न अपरिहार्य छ,’ घोषणापत्रमा उल्लेख छ। कर्णालीको भौगोलिक विकटता र सूचना प्रविधिको सीमित पहुँचलाई ध्यानमा राख्दै हाल जारी क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य स्थगित गर्न समेत भेलाले माग गरेको छ।
बृहत्तर एकताका लागि देशभरका नेता–कार्यकर्तामाथि चलाइएका अनुशासनका कारबाही र स्पष्टीकरण फिर्ता लिन केन्द्रीय अनुशासन समितिलाई आग्रह गरिएको छ। पार्टीको संरचनामा युवाहरूको भूमिकालाई जोड दिँदै भेलाले सबै तहमा न्यूनतम २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ। यस्तै, ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेशी) को समावेशी सिद्धान्तलाई पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
























