अन्तर्राष्ट्रिय

बढ्दो तनावले तेलको मूल्यमा तीव्र वृद्धि जारी

Banner

वासिङ्टन डिसी,चैत १७ –

इरानसँगको बढ्दो तनाव र युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि जारी छ। मंगलबार एसियाली कारोबारको सुरुवाती समयमै अमेरिकी तेलको मूल्य ३ प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६ डलर पुगेको छ।

गत फेब्रुअरी २८ मा इरानविरुद्धको युद्ध सुरु भएयता पहिलो पटक अमेरिकी कच्चा तेलको मूल्य १०० डलरको बिन्दु पार गर्दै सोमबारको सत्र बन्द भएको थियो। यो सन् २०२२ को जुलाईपछिकै उच्च मूल्य हो। अन्तर्राष्ट्रिय बजारको मानक मानिने ब्रेन्ट क्रूडको मूल्यमा पनि मंगलबार २ प्रतिशतभन्दा बढीको बढोत्तरी देखिएको छ, जसका कारण यसको प्रतिब्यारेल मूल्य ११५ डलर पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कुनै सम्झौता नभए त्यहाँका महत्त्वपूर्ण पूर्वाधारहरूमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिइरहेका छन्। ट्रम्पको यो अडानले तेल आपूर्तिमा अवरोध आउने त्रास बढेपछि बजारमा मूल्य अकासिएको लगानीकर्ता र विश्लेषकहरूको बुझाइ छ।

यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्ध कहिले सकिन्छ भन्नेबारे कुनै निश्चित समयसीमा तोक्न अस्वीकार गरेका छन्। अमेरिकी टेलिभिजन च्यानल न्युजम्याक्ससँग कुरा गर्दै नेतान्याहुले युद्ध अहिले ‘निश्चित रूपमा आधा बाटो’ पार गरिसकेको दाबी गरे।

युद्ध लम्बिँदै जाने संकेत र तेल उत्पादन गर्ने प्रमुख क्षेत्रमा देखिएको अनिश्चितताले आगामी दिनमा इन्धनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>