देश/प्रदेश

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

Banner

कञ्चनपुर, चैत १४ –

थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ ।

कृष्णपुर नगरपालिका–६ सिंगपुरमा आज बिहान सम्पन्न समाजको तेस्रो जिल्ला सम्मेलनले समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरणमा जोड दिइएको हो ।

कार्यक्रममा राजवंशी ठाकुर समुदायको उत्पत्ति, परम्परा, संस्कार, पोसाक, पूजा–पद्धति तथा जीवनशैलीबारे अध्ययन र अनुसन्धान गर्ने विषयलाई विशेष महत्व साथ अगाडि बढाइने समाजका सचिव वीरबहादुर राजवंशीले बताउनुभयो । “भावी पुस्तामा भाषा, लोककथा, लोकगीत तथा सांस्कृतिक मूल्य मान्यतालाई हस्तान्तरण गर्ने योजनासमेत अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “समुदायको उद्गमस्थल, घरानागत विवरण तथा बसाइँसराइका कारणहरू पहिचान गरी व्यवस्थित अभिलेखीकरण गर्ने र ती सामग्रीलाई औपचारिक रूपमा दस्तावेज तथा प्रकाशन गरी सार्वजनिक गर्ने तयारी गरेका छौँ ।”

त्यस्तै, सङ्गठनलाई सुदृढ बनाउँदै केन्द्रदेखि टोलस्तरसम्म संरचना विस्तार गर्ने, सदस्यता तथा आर्थिक स्रोत व्यवस्थापनलाई व्यवस्थित गर्नेलगायतका विषयमा पनि अधिवेशनमा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरूले राजवंशी ठाकुर समुदायको मौलिक पहिचान जोगाउन अनुसन्धान, अभिलेखीकरण र सांस्कृतिक संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ ।

‘भाषा, संस्कृति र इतिहासको प्रवद्र्धन, राजवंशी ठाकुर समाजको तेस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित आयोजित अधिवेशनमा समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरण गर्ने निर्णय गरिएको समाजका अध्यक्ष जोगराम चौधरीले बताउनुभयो ।

उहाँका अनुसार, अधिवेशनले सङ्गठनलाई केन्द्रदेखि टोलस्तरसम्म विस्तार गर्ने, सदस्यता तथा नवीकरणमार्फत कोष सुदृढ गर्ने निर्णय गरेको छ । अधिवेशनमा समाजका बुद्धिजीवी, अनुसन्धानकर्ता, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको सहभागिता रहेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>