समाचार

ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक

Banner

काठमाडौँ, चैत १४-

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।

‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्त्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ’, बस्नेतले भनेका छन् ।

उनले बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको पनि बताएका छन् ।

 

‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ’, ओली र लेखक पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।

 

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, बस्नेतले आह्वान गरेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>