देश/प्रदेश

‘तेल भिसा’का निर्माता शिवराज : नेपालमा २५० सर्वसाधारणलाई ठगेर भारतमा होटल सञ्चालन

Banner

काठमाडौँ, चैत १३-

फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की ठगीमा संलग्न आरोपमा अहिले ताहाचल स्थित वैदेशिक रोजगार विभागको थुनामा छन् । उनी वैदेशिक रोजगार ठगी कसुरमा फरार थिए । लामो समयदेखि भारतमा बस्दै आएका कार्की चैत ९ मा काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ परेका हुन् ।

 

काठमाडौँ आएको सुराकको आधारमा वैदेशिक श्रम हकहित संरक्षण समाजको सहयोगमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । उनले भने, ‘भारतबाट नेपाल आएको ३ दिन भएको रहेछ ।’

काठमाडौँको चाबहिलमा विगत १० वर्षदेखि पि एण्ड एम इनोभेटिभ सर्भिस नामको कन्सल्टेन्सी चलाउँदै आएका कार्कीले ‘विदेश पठाउँछु’ भनेर झन्डै २५० जना सर्वसाधारणलाई ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कन्सल्टेन्सीमार्फत कार्कीले सर्वसाधारणलाई सर्विया, ग्रिस र अजरबैजान पठाउँछु भनेर रकम लिएपछि सम्पर्कविहीन भएका थिए ।

पछिल्लो ३ महिनादेखी चाबहिल स्थित उनको कन्सल्टेन्सी पूर्णरूपमा बन्द थियो । नेपाल छाडेर उनी पछिल्लो समय भारतमा बस्दै आएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए । भारतको नयाँ दिल्ली स्थित पहाडगञ्जमा उनले ‘अन्नपूर्ण फास्टफुड’ नामको होटल सञ्चालन गर्दै आएको थाहा भएको छ । प्रहरीसँगको बयानमा उनले पहाडगजञ्जमा होटल सञ्चालन गरेको बताएका छन् । कार्कीको नाममा भारत सरकारले जारी गर्ने आधार कार्ड र प्यान कार्ड समेत भेटिएको डीएसपी घिमिरेले बताए ।

 

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका ४४ वर्षीय कार्कीबाट ठगीएका १ सय जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् । एसपी भट्ट भन्छन्, ‘उनले झन्डै २५० जनालाई ठगेको हाम्रो आशङ्का छ, अरू पीडितहरू पनि सम्पर्कमा आउँदै छन् ।’

 

२०८२ असार २४ मा उनीविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा बैंकिङ कसुरमा मुद्दा दर्ता भएको भेटिएको छ । वैदेशिक रोजगार र बैकिङ कसुरमा कार्कीविरुद्ध अहिलेसम्म ६ वटा जाहेरी दर्ता भएको भेटिएको छ । सर्विया, ग्रिस र अजरबैजान पठाउँछु भनेर उनले एकजनाबाट १ लाखदेखि २० लाखसम्म असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

आरोपी विरुद्ध वैदेशिक रोजगार विभागले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>