चितवन विशेष
पूर्व प्रहरीले दिए पुलिस स्कुलको शैक्षिक सुधारको सुझाव

चितवन, चैत १३–
नेपाल प्रहरीका पूर्व कर्मचारीहरूले पुलिस स्कुल संचालन एवम व्यवस्थापनका सम्बन्धमा आफ्नो राय सुझाव दिएका छन ।
पुलिस स्कुल शान्तिपुर चितवनले आयोजना गरेको पूर्व प्रहरी कर्मचारीहरूसंग अन्तर्क्रिया एवम छलफल कार्यक्रममा उपस्थित पूर्व प्रहरीहरूले विद्यालयले शैक्षिक सुधार, शिक्षक नियुक्ति एवम विद्यालय व्यवस्थापनका सम्बन्धमा आ–आफ्नो अनुभव सहितका राय सुझाव व्यक्त गरेका थिए ।
नेपाल प्रहरीको विभिन्न दर्जाबाट अवकास प्राप्त चितवनस्थिति बसोबास गर्ने पूर्व कर्माचारीहरूले पुलिस स्कुल पुगेरै विद्यार्थी भर्ना, विद्यालयको सेवा सुविधाबारे जानकारी लिनुका साथै विद्यालयको अवलोकन समेत गरेका थिए । पुलिस स्कुल शान्तिपुरले बहालवाला कर्मचारी, पूर्व प्रहरी, अमर अशक्त परिवारका सन्ततिलाई दर्जा अनुसारको सहुलियत सहित पठनपाठन गराइरहेको छ । प्रहरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई स्कुलले प्रदान गर्दै आएको शिक्षा, स्वास्थ , सुरक्षा, अनुशासनका साथै सामाजिकताले अपराध रहित समाज निर्माणमा महत्वपूर्ण भुमिका खेलिरहेको पूर्व प्रहरी कर्माचारीहरूले बताएका थिए ।

पूर्व प्रहरी कर्मचारी संगठन चितवनमा आवद्द भएका कर्मचारीहरूको उल्लेख्य सहभागी रहेको कार्यक्रमा विद्यालयका प्राचार्य मुकुन्दराज कंडेल, संयोजक गणेश अधिकारी, संगठनका चितवन अध्यक्ष बलबहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्य पूर्व प्रहरी निरीक्षक सन्तोष पन्त, अमर प्रहरी परिवारका सदस्यहरूको उपस्थिति रहेको स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन् ।
प्रहरी स्कुल शान्तिपुर चितवनले आगामी शैक्षिक सत्रका लागि आव्हान गरेको नयाँ विद्यार्थी एव शिक्षक भर्नाको सम्बन्धमा पूर्व प्रहरी कर्मचारीहरूले समन्वय गर्ने एवम पुर्व कर्मचारी संगठनको कार्यालयमा स्कुलको सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत पूर्व कर्मचारीहरूले व्यक्त गरेका थिए । चितवनका विभिन्न स्थानमा गरि जिल्लाभर ११९६ पूर्व प्रहरी कर्मचारी रहेका छन् ।


























