देश/प्रदेश

केएमसी पब्लिक लिमिटेड अस्पतालद्धारा अत्याधुनिक उपकरणसहित सेवा आरम्भ

Banner

भक्तपुर, चैत ९ –

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा शैक्षिक कार्यक्रमदेखि उपचार सेवा सञ्चालन गर्दै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड अस्पतालले अत्याधुनिक विशषेज्ञ सेवा विस्तार गर्दै अस्पतालले युनिट–२ को सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ मेडिकल कलेज (केएमसी)का प्रबन्ध सञ्चालक डा सुनिल शर्माले अस्पतालले दुवाकोटमा चिकित्सा, नर्सिङ, डेण्टललगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकामा अहिले रु डेढ अर्ब लगानी थपेर काठमाडौँको सिनामङ्गलमा सञ्चालन भइरहेको सबै सेवा भक्तपुरको दुवाकोटस्थित अस्पतालबाटै पाउने गरी ‘सुपर स्पेसियालिटी’ सेवा ल्याएको सञ्चालनमा ल्याएको बताउनुभयो ।

प्रबन्ध सञ्चालक शर्माले भन्नुभयो, “मस्तिष्क र मुटु सम्बन्धी सम्पूर्ण सेवा भक्तपुरबाटै सञ्चालनमा ल्याएका छौँ । अस्पतालमा अत्याधुनिक उपकरणबाट जटिल मस्तिष्कसम्बन्धी उपचार, टाउकोको नसामा ब्लकेज वा समस्या आएमा खप्पर नचिरीकन हात वा खुट्टाको नशाबाट तार र बलुन प्रयोग गरेर गिदीसम्म पुगेर उपचार गर्ने सुविधा, मुटुका बिरामीका लागि क्याथ ल्याव मेसिन सञ्चालनमा ल्याएका छौँ । अब हामी मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारीमा छौँ ।”

अति विपन्न स्थानीय एक हजार जनालाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको उल्लेख गर्दै प्रबन्ध सञ्चालक शर्माले अब उपचारका लागि घण्टौँ जाम छिचोलेर काठमाडौँमा अस्पताल धाउनु नपर्ने र सबै उपचार यहीँबाट हुने बताउनुभयो ।

चाँगुनारायणवासीलाई शुल्कमा २५ प्रतिशत छुट

अस्पतालले चाँगुनारायण नगरपालिकावासीलाई सबै किसिमको उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुटको व्यवस्थामा सम्झौता गरी आजैबाट लागू गरेको छ ।

आइतबार अस्पतालमैै प्रबन्ध निर्देशक डा शर्माले चाँगुनारायणवासीलाई सबै उपचारमा २५ प्रतिशत छुट दिने घोषणा गर्दै अस्पतालको तर्फबाट शर्माले र नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता आजैदेखि लागू भएको बताउँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले अस्पतालले स्थानीयवासीको परिचय खुल्ने कुनै परिचयपत्र लिएर अस्पतालमा सेवा लिँदा २५ प्रतिशत छुट दिने सहमति गरि आजदेखि कार्यान्वयनमा आएको बताउनुभयो ।

नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य सेवा एवं सुविधामध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, ज्येष्ठ नागरिक र औषधि उपचार कोषमा आवद्ध भएकाको हकमा सरकारले उपलब्ध गराएको सुविधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाइने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यवस्था गरिने सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पताल र नगरपालिकाबीचको सहमतिले यस क्षेत्रका करिब ५० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो । अस्पतालले स्थानीय वडाध्यक्षको सिफारिसमा ५० जनालाई ५० प्रतिशतसम्म छुटमा उपचार गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

अस्पतलमा आइतबार सेवा शुभारम्भ एवं उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरमै विशिष्टिकृत सेवाहरूसमेतको अस्पताल सञ्चालनमा आएपछि भक्तपुर बिरामीले अब उपचारका लागि अन्यत्र भौतारिनुपर्ने अबस्था नआउने बताउनुभयो ।

भक्तपुर अस्पताललेसमेत गुणस्तरीय सेवा बिस्तार गरिरहेको अबस्थामा जिल्लामै निजी क्षेत्रद्वारा सञ्चालित अस्पतालले सेवा विस्तार गर्दा आसपासका जिल्लाका बासिन्दालाई सेवा लिन सहज हुने उहाँले बताउनुभयो ।

प्रदेश पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले भक्तपुरमा मुटु र मस्तिष्कको बिशिष्टिकृत सेवासहितको अस्पताल सञ्चालनमा आएसँगै उपचार नपाएर अस्पताल लैजादालैजादै बाटोमै ज्यान जाने अवस्थाको अब अन्त्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा र सङ्घीय सांसद मदनकृष्ण श्रेष्ठले जिल्लामै गुणस्तीय, सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उपचार नै नपाएर ज्यान जाने अवस्था नआउने विश्वास दिलाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>