अन्तर्राष्ट्रिय
जर्मनीका हिमनदी २०३० को दशकभित्र पग्लिएर सकिने निष्कर्ष

काठमाडौं, चैत ६-
जर्मनीमा जलवायु परिवर्तनको अध्ययन गर्ने वैज्ञानिकले सन् २०३० को दशकभित्र त्यहाँका सबै हिमनदी समाप्त हुने निष्कर्ष निकालेका छन् । जर्मनीमा बाँकी रहेका चार हिमनदीले पछिल्लो दुई वर्षमा मात्र आफ्नो सतहको एकचौथाइ क्षेत्र गुमाइसकेका छन् ।
जर्मनीको बवेरियन आल्प्समा रहेका ब्लाउआइस र वात्समान हिमनदीको करिब ४५ प्रतिशत हिउँ सन् २०२३ देखि २०२५ का बीचमा पग्लिएर सकिएको छ । बवेरियन एकेडेमी अफ साइन्सेजका हिमनदी वैज्ञानिक क्रिस्टोफ मायर र म्युनिख युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका भूगोलविद् विलफ्रिड हागको सर्वेक्षणले यो तथ्यांक सार्वजनिक गरेको हो ।
अनुसन्धानकर्ताले आफ्नो रिपोर्ट बिहीबार (मार्च १९) सार्वजनिक गरेका हुन् । विश्व ग्लेसियर दिवस (मार्च २१) अघि रिपोर्ट सार्वजनिक गरिएको हो ।
त्यहाँ हालसम्म कुल १० लाख क्युबिक मिटर हिउँ पग्लिसकेको छ । हिउँको मोटाइले पनि हिमनदीहरू तीव्र गतिमा खुम्चँदै गएको देखाउने जनाइएको छ । प्रत्येक वर्ष हिउँको मोटाइ १.६ मिटरले घटिरहेको छ । सन् २०१८ देखि २०२३ बीचका पाँच वर्षको तुलनामा यो दर निकै बढी हो ।
बेर्षटेसगाडेन क्षेत्रका दुई हिमनदी त चाँडै ‘ग्लेसियर’को श्रेणीबाट बाहिरिने अनुसन्धानमा जनाइएको छ । यो कुनै पनि वर्ष हुन सक्नेछ ।
बवेरियाको त्सुगस्पित्से क्षेत्रको होलेटालफेर्नर विगतका वर्षमा सबैभन्दा स्थिर देखिएको छ । यसले आफ्नो नौ प्रतिशत हिस्सा मात्र गुमाएको छ । यसलाई हिमपहिरोबाट हिउँ प्राप्त भइरहने र अग्ला चट्टानका कारण सूर्यको किरण कम पुग्ने हुनाले यो जोगिएको हो । यो २०३० को दशकसम्म हिमनदीको श्रेणीमा रहन सक्छ ।
दुई हजार ९६२ मिटर अग्लो त्सुगस्पित्सेमुनि रहेको नर्डलिषर श्नीफेर्नर जलवायु संकटसँग जुधिरहेको र यो दशकको अन्त्यसम्ममा समाप्त हुन सक्ने जनाइएको छ ।
सन् १९८० देखि २०२३ का बीचमा यो खुम्चिएर आधा भएको छ । पछिल्लो दुई वर्षमा पग्लिएर एकचौथाइ मात्र बाँकी छ । डीडब्ल्यूबाट



























