देश/प्रदेश

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

Banner

भोजपुर,फागुन १८ –

मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ ।

गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको हो । रु २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय मिटर सिँचाइ कुलो निर्माण, विश्रामस्थल तथा शौचालय निर्माणलगायतका काम गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिनुभयो । संरक्षण गरिएका मुहान हाल खानेपानी र सिँचाइ दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् ।

“प्राकृतिक प्रकोप र बढ्दो मानवीय गतिविधिका कारण धेरै मुहान सुक्दै गएका छन्,” वडाध्यक्ष थापामगरले भन्नुभयो, “त्यसैले दीर्घकालीन रूपमा पानीको स्रोत जोगाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

उहाँका अनुसार भविष्यमासमेत मुहान सुक्न नदिन रिचार्ज पोखरी निर्माणले थप टेवा पुगेको छ । यसअघि सोही क्षेत्रमा रहेको ठूलो मुहान र लम्साल मुहानको पनि संरक्षण गरिएको थियो । स्थानीय प्रकाश बानियाँले विगतमा मुहान संरक्षण नहुँदा खानेपानीको समस्या भए पनि अहिले सहजता भएको बताउनुभयो । “अहिले संरक्षणपछि निकै सहज भएको छ,” उहाँले भन्नुभयो, “रिचार्ज पोखरी निर्माणले पानीको मात्रा स्थिर राख्न सहयोग गरेको छ ।”

गाउँपालिका अध्यक्ष थामबहादुर राईले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा जलस्रोतमा नकारात्मक असर देखिएको उल्लेख गर्दै जलाधार संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “हामीले प्राकृतिक रूपमा रहेका मुहानको खोजी, पहिचान र संरक्षणको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यस्ता स्रोत जोगाउन सकिएन भने भविष्यमा ठूलो सङ्कट आउन सक्छ ।”

अध्यक्ष राईका अनुसार सडक विस्तार तथा अन्य मानवीय गतिविधिका कारण मुहान सुक्ने जोखिम बढेकाले गाउँपालिका सचेत रहेको छ । नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेटलाई वातावरण संरक्षण र दिगो विकासमा खर्च गरिएको उहाँको भनाइ छ ।

भुल्के क्षेत्रमा गरिएको संरक्षण कार्यले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>