चितवन विशेष
माडीमा अहिलेसम्मकै उच्च २३२ पिन्ट रगत संकलन, असिम र बुद्धिराम महतोले पाए साइकल र मोबाइल

चितवन, फागुन ७–
चितवनको दक्षिणी भेग अवस्थित माडी नगरपालिकामा एकैदिन हालसम्मकै उच्च रगत संकलन गरिएको छ ।
बिहीबार भूपराज पाठक स्मृति प्रतिष्ठानले प्रथम स्मृति दिवसको अवसरमा बसन्तपुर बजारमा गरेको कार्यक्रममा २३२ जनाले रक्तदान गरेका छन् । माडीमा हालसम्म गरिएको कार्यक्रम मध्ये यो सबैभन्दा बढी रगत संकलन गरिएको कार्यक्रम बनेको छ । रक्तदान गरेका मध्ये ५२ जना महिला र १८० जना पुरुष छन् । ती मध्ये ६९ जनाले पहिलोपटक रक्तदान गरेको प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले जानकारी दिए । यसअघि माडीमा एकैदिन २१७ जनाले रक्तदान गरेका थिए ।
माडीलाई ग्रामीण भेगको रुपमा लिने गरिएको छ । तर यहाँ पछिल्लो समय रक्तदान सम्बन्धि सचेतना बढ्दै गएको रक्त अभियन्ता हरिप्रसाद न्यौपाने बताउँछन् । ‘पहिले पहिले यहाँ रक्तदान गर्न डराउथे, अहिले सबै रक्तदान गर्न अग्रसर हुन्छन्’–न्यौपानेले भने ।

युवाहरुलाई रक्तदानका लागि प्रेरित गर्न यो कार्यक्रममा विभिन्न पुरस्कार समेत राखिएको थियो । जसमध्ये रक्तदाता असिम महतोले साइकल उपहार पाए भने बुद्धिराम महतोले मोबाइल उपहार पाए । पछिल्लो समय रगत अभाव बढ्दो क्रममा रहेकाले युवा र स्वस्थ मानिसलाई रक्तदानमा प्रेरित गर्न सामान्य उपहार राखिएको प्रतिष्ठानका अध्यक्ष पाठकले बताए ।
प्रतिष्ठानले स्वर्गीय भूपराज पाठकको स्मृति ग्रन्थ समेत विमोचन गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बागमती प्रदेशका पूर्व मन्त्री एवं रक्त अभियन्ता विजय सुवेदी, वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले स्मृति ग्रन्थको विमोचन गरेका थिए । यस्तै भूपराज पाठक स्मृति असल शिक्षक पुरस्कार दिवाकर स्मृति माविका शिक्षक जनकराज भुषाललाई प्रदान गरिएको छ । उनलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नगद ५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
भूपराज पाठक स्मृति प्रतिभा पुरस्कार माडीकी मुर्तिकार पार्वती वि.क.लाई प्रदान गरिएको छ । उनलाई पनि नगद ५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै माडी नगरपालिका प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटालाई अभिनन्दन गरिएको थियो ।

यस्तै भूपराजको सम्झनामा माडी स्तरीय निबन्ध प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूपराज पाठकको स्मृति दिवसमा रक्तदान जस्तो पवित्र कार्य गर्नु आफैमा महत्वपूर्ण रहेको बताए । उनले भूपराजको बारेमा आफूलाई धेरै ज्ञान नभए पनि समाजमा पुर्याएको योगदानकै कारण उनको चर्चा भइरहेको बताए । ‘अहिलेको समाज स्वार्थ र सर्तका नेक्ससमा परेको छ, समाजसेवामा प्रतिवद्ध लागेको मान्छेको स्मरण निकै कम हुने गरेको छ, टाकटुक पार्नेहरुकै चर्चा बढी हुने गरेको छ, भूपराजको स्मृतिमा महत्वपूर्ण कार्यक्रम गरि सच्चा श्रद्धाञ्जली प्रकट गरिएको छ’–प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
बागमती प्रदेशका पूर्व मन्त्री एवं रक्त अभियन्ता विजय सुवेदीले भूपराज पाठकको चर्चा गर्दै २८ वर्षको कलिलो उमेरमा संसारबाट बिदा लिएर पनि समाजका लागि महत्वपूर्ण योगदान दिएको बताए । स्वर्गीय पाठकले पत्रकार, समाजसेवी, साहित्यकार भएर समाजका लागि योगदान दिएको उनको भनाई थियो । ‘जुनसुकै मानिस जन्मेपछि मृत्यु हुन्छ, यो बीचमा समाज र मानवताका लागि योगदान र कल्याण गर्नुपर्छ त्यो नै वास्तविक जीवन हो, २८ वर्षमा भूपराजले जति काम गर्नुभयो त्यो महत्वपूर्ण छ’–सुवेदीले भने ।

कार्यक्रममा वरिष्ठ फिजिसयन डा.भोजराज अधिकारीले भूपराज पाठकलाई स्मरण गर्दै रक्तदान गर्न युवाहरुलाई प्रेरित गरेका थिए । कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने, विभिन्न रक्त अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
पत्रकार, शिक्षक, साहित्यकार रहेका भूपराजको एक वर्षअघि क्यान्सर रोगबाट २८ वर्षको उमेरमै निधन भएको थियो । उनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

































