देश/प्रदेश

बाराका किसानलाई उखु काट्न चटारो

Banner

बारा, माघ २७ –

बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु भएसँगै किसानलाई उखु काट्न चटारो बढेको छ। बिहानदेखि साँझसम्म खेतबारीमै खटिएर किसानहरू उखु काट्ने र चिनी मिलसम्म पुर्‍याउने तयारीमा जुटेका छन्। उखु खेती किसानका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको छ भने यसले धेरैको जीवनस्तरमा सुधार ल्याएको उनीहरू बताउँछन्।

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने ७० रुपैयाँ अनुदान थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था गराएको छ। तर उत्पादन लागत बढेको भन्दै किसानहरूले यो मूल्य अपर्याप्त भएको गुनासो गरेका छन्। किसान प्रतिनिधिहरूले ७५० रुपैयाँ प्रतिक्विन्टल माग गरेका थिए। मूल्य निर्धारणमा सहमति नजुट्दा हरेक वर्ष जस्तै यसपालि पनि किसान प्रतिनिधि र चिनी मिलका प्रतिनिधिबीच किचलो देखिएको छ।

उखु खेती बाराका किसानका लागि अझै पनि प्रमुख नगदे बालीका रूपमा रहेको छ। उचित मूल्य र समयमा भुक्तानी पाएमा उखु खेतीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने किसानहरूको अपेक्षा छ। नेपालमा उखु लगाउने समय फागुनदेखि वैशाखसम्म पर्छ भने रोपेको करिब १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म उखु काट्ने उपयुक्त समय हुन्छ। यही कारण जाडो याम सुरु भएसँगै उखु काट्ने र चिनी मिलमा पठाउने काम तीव्र हुने गर्छ।

तस्बिरहरू:मनिष अर्याल.नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>