देश/प्रदेश
लैङ्गिक समानताबिना दिगो विकासको लक्ष्यप्राप्ति असम्भव

काठमाडौँ, माघ २३-
संयुक्त राष्ट्रसङ्घ कृषि तथा खाद्य सङ्गठन (एफएओ) का प्रतिनिधि एलेजेन्ड्रा साफाले लैङ्गिक समानताविना दिगो विकास लक्ष्य प्राप्त गर्न सम्भव नहुने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले कृषि क्षेत्रमा महिला र किशोरीको सहभागिता महत्वपूर्ण रहेको भए पनि असमानताको खाडल नपुरिँदासम्म वास्तविक विकास नहुने धारणा राख्नुभयो । “सहभागिता भएर मात्रै हुँदैन
उनीहरुले उठाएका मुद्दा सम्बोधन भएकी भएनन् भन्ने विषय महत्वपूर्ण हुन्छ”, उहाँले बताउनुभयो ।
कार्यक्रममा एफएओ भुटानका प्रतिनिधि क्यान्सिनो जुले कृषिमा महिला अधिकार मानव अधिकारसँग जोडिएको महत्वपूर्ण पाटो रहेको बताउनुभयो । उहाँले नेपालमा ७० प्रतिशत महिलाले कृषिमा योगदान दिएको बताउँदै उनीहरुलाई यस क्षेत्रमा नीतिगत रुपमा र व्यावहारिक रुपमा सशक्त बनाउन राज्य र निजी क्षेत्रले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, कार्यक्रममा लैङ्गिक समानताका अन्तरराष्ट्रिय विज्ञ मनिषा गोन्जालिसले महिलालाई आधुनिक प्रविधिमैत्री कृषिमा जोड दिनुपर्ने सुझाव दिनुभयो । एफएओका नेपालका लैङ्गिक समानता विज्ञ भवानी थपलियाले एफएओ नेपालले सन् २०२३ मा प्रकाशन गरेको कृषिमा महिला सहभागिताको प्रतिवेदन प्रस्तुत गर्नुभयो । जसमा विश्वमा ३३ प्रतिशत महिला कृषिमा संलग्नु हुनुभएको तथ्याङ्क छ ।
यसैगरी नेपालमा ७० प्रतिशत महिलाले कृषि गर्दै आएको तथ्याङ्क भए पनि भूमिमाथिको स्वामित्व भने जम्मा १९ दशमलव ५ प्रतिशत महिलामात्रै रहेको छ । कार्यक्रममा खाद्य, महिला र कृषिका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । रासस


























