देश/प्रदेश
सामुदायिक कुकुरको स्याहार संरक्षणमा ‘ज्योति’ का सात वर्ष
०

वालिङ (स्याङ्जा), माघ २३ –
यहाँकी एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने सामुदायिक कुकुरको संरक्षण र स्याहार गर्दै आउनुभएको छ । सडकमा हिँड्ने सामुदायिक कुकुरप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि स्याङ्जाको वालिङ–८ केदारनाथ मार्गकी ज्योति अधिकारीले सडकका सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने, स्याहार तथा संरक्षण गर्दै आउनुभएको हो ।
कोभिड–१९ बाट सिर्जित ‘लडकडाउन’का बेला सडकका कुकुरले खान नपाएर रुने कराउने गरेको पीडादायी अवस्था देखेलगत्तै उहाँ दैनिक खाना खुवाउँदै आउनुभएको हो । “यिनीहरुको पनि यस धर्तीमा बाँच्ने अधिकार छ, तर सामुदायिक कुकुरलाई गरिने व्यवहार फरक छ”, उहाँले भन्नुभयो, “सडकका कुकुरलाई गरिने दुव्र्यवहार देख्दा मन खिन्न हुन्छ, सकिन्छ संरक्षण गरौँ, सकिन्न दुव्र्यवहार नगरिदिनुहोस् ।”
उहाँले दैनिक साँझमा सडकका कुकुरलाई भात, मासु, दूधभात, आँटो, ढेँडो दिनुहुन्छ । साथै उहाँले कुखुराको टाउको खुट्टालगायत मासु ल्याएर पानीमा उमालेर दिने गर्नुभएको छ । दिनभर यत्रतत्र डुलेर कुकुर साँझ खाना खाने बेलामा ठ्याक्कै घरमै आउने गरेका छन् । “दैनिकजसो आठ÷१० वटा सामुदायिक कुकुरलाई खाना खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “उनीहरुलाई छुट्टाछुट्टै प्लास्टिकको थालमा खाना खान दिँदै आएकी छु, उनीहरुको पेट भरिएको देख्दा खुसी लाग्छ ।”
वालिङमै व्यवसाय गर्दै आउनुभएकी उहाँसहित उहाँको परिवारले पनि कुकुरको संरक्षणमा ध्यान दिँदै आउनुभएको छ । यहाँ भएका सबै कुकुरलाई वालिङ नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको समन्वयमा रेविजविरुद्धको खोप लगाइएको छ ।
कुकुरलाई कुनै रोग लागेमा पशु चिकित्सकसँगै समन्वय गरेर उपचार गर्ने गरिएको छ । साँझ खान दिएपछि कुकुरलाई जुटको बोरा, अन्य कपडा तथा डफ्टी विछ्याइदिएपछि आफ्नोआफ्नो ठाउँमा बस्छन् ।
“कहीँबाट केही सहयोग पाइन्छ भनेर होइन, मनैदेखि सामुदायिक कुकुरको संरक्षण गर्दै आइरहेकी छु”, उहाँले भन्नुभयो, “घरघरमा कुकुरहरुलाई बस्दोबस्तीसित पाल्न हुन्छ, तर सडकका कुकुरलाई लखेट्ने, पिट्ने, दुव्र्यवहार गर्छौं यसो नगरौँ यिनीहरुको पनि हाम्रो जस्तो प्राण छ, यही धर्तीमा बाँच्ने अधिकार छ, त्यो सुरक्षित गरिदिऔँ ।” यो कुनै अभियान नभएर व्यक्तिगत रुपमा मनैदेखि लागेर गरेको कार्य भएकाले यिनीहरुको संरक्षण र स्याहारमा रमाइलो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>




















