देश/प्रदेश
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं माघ २२-
पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा। बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान उनले अन्तिम सास फेरेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रलोपाका नेता जन्मदेव जैसीका अनुसार, स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा ल्याइने र हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । ९७ वर्षको उमेरमा निधन भएका भोजप्रसादका डा। बाबुराम भट्टराई लगायतका सन्तान रहेका छन् ।
भट्टराईको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।


























