चितवन विशेष
सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

चितवन, माघ १२-
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको बसबाट मानव कङ्काल भेटिएको छ । डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स बसबाट उत्खनन गरेको १६ औँ दिनमा मानव कङ्काल भेटिएको हो ।
गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा सवारी साधनको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेल्चाको प्रयोग गरी बालुवा उत्खनन गर्दै अवशेष निकाल्ने प्रयास थालेका थिए । त्यसबाट सम्भव नभएपछि दुर्घटनाग्रस्त सवारी साधन निकाल्ने कार्य गर्दै आएको तनहुँको ‘मिलन चेनपुली’ कम्पनीले चेनपुलीको सहायतामा उत्खनन कार्य सुरु गरेको थियो ।
उत्खनन गरेको १६ औँ दिनमा मानव कङ्काल भेटिएको जिल्ला प्रशासन कार्यालय तनहुँका साहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले जानकारी दिए । ‘बसको एउटा खपेटोमा मानव कन्गाल भेटिएको थियो,’ उनले भने ‘चितवनबाट प्रहरी सहित आएको चिकित्सकको टोलीले त्यो लैजाने तयारीमा छ ।’ लामो प्रयासपछि बस सिंगो बस नआएपछि टुक्रा पारेर बस निकाल्न थालिएको छ । अगाडिको भागबाट मानव कङ्काल भेटिएको हो । पछाडिको भाग पछि निकाल्ने तयारी गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा गरिएको उत्खननका क्रममा उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई वटा बसमध्ये गणपति डिलक्सको बस भएको पुष्टि थियो । दुईवटा बसमा सवार ६५ यात्रुमध्ये ३ जना यात्रुमात्रै जिवित भेटिएका थिए ।
























