अन्तर्राष्ट्रिय

ग्रीनल्यान्ड कब्जा गर्नु बाध्यता, अन्यथा रुस र चीन हाबी हुन्छन्ः ट्रम्प

Banner

काठमाडौं, पुस २६-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्न किन आवश्यक छ भन्नेबारे स्पष्टीकरण दिएका छन् । शुक्रबार ह्वाइटहाउसमा तेल र ग्यास कम्पनीका उच्च अधिकारीसँगको बैठकका क्रममा उनले अमेरिकाले यसो नगरे रुस र चीनजस्ता देशले ग्रीनल्यान्ड कब्जा गर्ने बताएका रोयटर्सले जनाएको छ ।

ट्रम्पले ग्रीनल्यान्ड हासिल गर्नु केवल जमिन किन्ने विषय मात्र नभई रुस र चीनलाई टाढा राख्ने रणनीति भएको स्पष्ट पारे । उनले भने, “हामी यस्ता देशहरूलाई आफ्नो छिमेकी बनेको देख्न सक्दैनौँ ।” ट्रम्पले अगाडि भने, “यदि, अमेरिकाले ग्रीनल्यान्डलाई सहज तरिकाले हासिल गर्न सकेन भने अरू कडा कदमहरू चाल्नुपर्नेछ ।”

उनले थपे, “हामी ग्रीनल्यान्डको मुद्दामा केही न केही गर्नेछौँ, चाहे उनीहरूलाई मन परोस् वा नपरोस् ।” उनले पत्रकारसँग भने, “म चाहन्छु कि यो सम्झौता सहज तरिकाले होस् ।”

यद्यपि, उनले डेनमार्कप्रति नरम व्यवहार देखाउँदै भने, “म डेनमार्कको ठूलो प्रशंसक हुँ । उनीहरू मसँग धेरै राम्रो व्यवहार गर्छन् ।” अमेरिकाले ग्रीनल्यान्डका जनतालाई सिधै पैसा दिएर आफूसँग जोडिन राजी गराउने योजना बनाइरहेको हो रु भन्ने प्रश्नमा ट्रम्पले भने, “अहिले म ग्रीनल्यान्डका निम्ति पैसाको कुरा गरिरहेको छैन । सायद पछि गर्नेछु ।”

उनले यो मुद्दालाई राष्ट्रिय सुरक्षासँग जोडिएको बताए । ट्रम्पले ग्रीनल्यान्डनजिक रुसी र चिनियाँ नौसेनाका ‘डिस्ट्रोयर’ र पनडुब्बीहरूको बढ्दो गतिविधि उद्धृत गर्दै भने, “हामी रुस वा चीनलाई ग्रीनल्यान्ड कब्जा गर्न दिने छैनौँ ।” उनले आफूलाई रुस र चीन दुवै मन पर्ने र त्यहाँका नेताहरू भ्लादिमिर पुटिन र सी चिनफिङसँग राम्रो सम्बन्ध रहेको बताए पनि ग्रीनल्यान्ड उनीहरूलाई दिन नसकिने स्पष्ट पारे ।

अमेरिकाको त्यहाँ सैन्य अड्डा छ भने पूर्ण कब्जा गर्नुको आवश्यकता के? भन्ने प्रश्नमा ट्रम्पले लिज (भाडा) मात्र पर्याप्त नभएको र मालिक भएपछि यसको रक्षा गर्न सकिने बताए । लिजले रक्षा राम्ररी गर्न नसकिने भएकाले अमेरिकालाई पूर्ण स्वामित्व चाहिएको उनले उल्लेख गरे । ट्रम्प सन् २०१९ देखि नै डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्ड किन्न चाहन्छन् । अमेरिका र डेनमार्क दुवै नेटो सैन्य गठबन्धनका सदस्य हुन् । ट्रम्प ग्रीनल्यान्ड कब्जा गर्ने दिशामा अघि बढे यसको अर्थ अमेरिका आफ्नै नेटो सदस्य राष्ट्रविरुद्ध उभिएको देखिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>