चितवन विशेष
नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डितले गरे पदभार ग्रहण

चितवन, पुस २५–
नारायणगढ जेसीजको नवनिर्वाचित टिमले पदभार ग्रहण गरेको छ ।
नारायणगढस्थित जेसीज भवनमा भव्य कार्यक्रमकाबीच वर्ष २०२६–०२७ को टिमलाई औपचारिक रुपमा पद हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री जयराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ जेसीज वर्ष २०२५ का अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष सन्तोष पण्डितलाई पद हस्तान्तरण गरे । कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रस्टीजका प्रतिनिधिहरू तथा जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
पदभार ग्रहण गर्दै अध्यक्ष पण्डितले आफ्नो कार्यकाललाई कार्यदक्षता, क्षमता र सामूहिक प्रयासका माध्यमबाट सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीजको स्वर्ण जयन्तीको वर्षमै आफू अध्यक्षमा निर्वाचित हुनु गौरवको विषय भएको बताउँदै यो कार्यकाल विशेष र स्मरणीय हुने विश्वास व्यक्त गरे। साथै, जेसीजको मर्म र भावनालाई आत्मसाथ गर्दै वर्ष २०२६ लाई भव्य र उपलब्धिमूलक बनाइने प्रतिवद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई लक्षित विविध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२६ का अध्यक्ष जीवन कार्कीले नारायणगढ जेसीजले निरन्तर रूपमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरणमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गरे । उनले स्वर्ण जयन्तीको ऐतिहासिक अवसरमा नारायणगढ जेसीजले राष्ट्रिय स्तरमै प्रेरणादायी कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरू तथा पूर्व कार्यसमिति सदस्यहरूले पनि नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए। उनीहरूले जेसीजले विगतदेखि हालसम्म युवा नेतृत्व उत्पादनमा खेलेको भूमिकाको चर्चा गर्दै स्वर्ण जयन्तीलाई संस्थाको इतिहासमा कोशेढुंगा बनाउने सुझाव दिएका थिए।
कार्यक्रममा बोल्दै वर्ष २०२५ का अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यकालमा युवामैत्री तथा समाज केन्द्रित विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको बताउनुभयो। सोही अवसरमा उहाँले आफ्नो कार्यकाललाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरे । नारायणगढ जेसीजको ४८औँ शाखा अधिवेशनबाट सन्तोष पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। कार्यकारी उपाध्यक्षमा प्रदीप पौडेल र संजीव पौडेल, उपाध्यक्षमा इ. अश्विन पौडेल, निसान हमाल, सुसिल सापकोटा र सुरज पण्डित तथा निर्देशकहरूमा विनय पौडेल, गणेश पाण्डेय, सौगात तिवारी र सबिन पौडेल निर्वाचित भएका छन्।

पदभार ग्रहणसँगै अध्यक्ष पण्डितले विभिन्न पदमा मनोनयन समेत गरेका छन् । जसअनुसार सह–कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सह–सचिवमा साजन अधिकारी, कोषाध्यक्षमा विपिन कंडेल, महासचिवमा रामबाबु पुडासैनी तथा कानुनी सल्लाहकारमा कपिल श्रेष्ठलाई मनोनित गरिएको छ।
कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक प्रदीप पौडेल र सह–संयोजक जेसी अश्विन पौडेलको विशेष भूमिका रहेको थियो। कार्यक्रम सञ्चालन वर्ष २०२५ का महासचिव कपिल श्रेष्ठ तथा वर्ष २०२६ का महासचिव रामबाबु पुडासैनीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा स्वर्ण महोत्सव संयोजक सुदीप सिंह अधिकारी, बोर्ड अफ ट्रस्टीज संयोजक उत्तमलाल चुके, प्रमुख निर्वाचन आयुक्त विकासमान श्रेष्ठ, निर्वाचन आयुक्तहरू अमर घिमिरे र राजेन्द्र भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
























